विवश चिन्तन ‘अजय’ले पालुङ्टारको नगरप्रमुख जितेको खुसीयालीमा एक युवाले गाउँलेलाई खुवाए भोज !

गोरखा – स्थानीय निर्वाचनको मतगणना सकिएपछि पालुङटारमा माओवादीमय भएको छ । जनता समाज पार्टी (जसपा)को उम्मेदवार प्रेम गुरुङलाई ३५५ मत अन्तर पारेर माओवादी केन्द्रको विवश चिन्तन ‘अजय’ ले नगर प्रमुख पदमा जित हाँसिल पारेका छन् । उप-प्रमुखमा काँग्रेसको उम्मेदवार चेत कुमार श्रेष्ठलाई ५२२ मत अन्तर पारेर माओवादी केन्द्रको वन्दना पाण्डे ‘प्रतिमा’ले जित हाँसिल गरेकी छिन् ।

पालुङटार नगरपालिकाको प्रमुख र उप- प्रमुख नै माओवादी केन्द्रको नाममा भएको छ । पालुङटार नगरपालिकाको नगर प्रमुखमा विवश चिन्तन ‘अजय’ले विजय हाँसिल गरेको उपलक्ष्यमा समाजसेवी सुनिल श्रेष्ठले आफ्नै निजी पैसाले आफ्नो गाउँवासीलाई अर्चलेलाई खसी काटेर खुवाएका छन् ।

राजनीतिमा चासो राख्ने श्रेष्ठले विवश चिन्तन ‘अजय’ को जित आफ्नै जित र सम्पूर्ण पालुङटारवासीको जित भएको बताएका छन् । माओवादीले नै पालुङटारमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ भन्ने श्रेष्ठको विचार छ ।