कमल थापाको प्रतिवेदन : एमालेको उदासिनताका कारण अपेक्षाकृत चुनावी परिणाम आएन

काठमाडौं, ९ जेठ:

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको उदासिनताका कारण आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम आउन नसकेको बताएका छन् ।

काठमाडौंमा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अध्यक्ष थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमालेको उदासिनताका कारण चुनावमा अपेक्षाकृत परिणाम आउन नसकेको बताएका हुन् ।

यसबाट पाठ सिकेर आगामी संसदीय निर्वाचनको तयारीमा जुट्नुपर्ने बताउँदै अध्यक्ष थापाले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘चुनावमा हामीले नेकपा(एमाले) सँग सहकार्य गर्ने निर्णय ग¥यौँ । व्यवहारिक र रणनीतिकरुपमा ठीक भएता पनि नेकपा (एमाले)को उदासिनताको कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममखि हुन सकेन । यो चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब हामीले आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्छ ।’

अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा त्यागेर राप्रपा नेपालको नेतृत्व सम्हाल्न पुगेका अध्यक्ष थापाले एमालेसँग सहकार्य गरेर राप्रपा नेपाललाई स्थानीय तह निर्वाचनको मैदानमा उतारेका थिए । तर, राप्रपा नेपालले एउटा पनि पालिकामा जित्न सकेन ।

स्थानीय तह निर्वाचनको समीक्षा गर्न बसेको कार्यसम्पादन समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष थापाले एमालेको उदासिनताका कारण पार्टीले अपेक्षाकृत परिणाम ल्याउन नसकेको बताएका हुन् ।

निकट भविष्यमा नै हिन्दू राष्ट्र पुनर्स्थापनाको निम्ति देशव्यापी सशक्त अभियान थाल्ने बताएका अध्यक्ष थापाले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘त्यस्तो सहमति जुट्न नसकेको अवस्थामा संविधान प्रदत्त अधिकार अनुरूप ‘धर्मनिरपेक्षता वा हिन्दूराष्ट्र’ भन्ने विषयमा जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरियोस् भन्ने माग सहित राप्रपा नेपालले जनसंघर्ष गर्नेछ ।’