माल्भिकाको पक्षमा श्रृंखलासहित ३ पूर्व मिस नेपालको भनाइ यस्तो…

काठमाडौं। पूर्व मिस नेपाल, मोडल तथा टेलिभिजन संचालिक माल्भिका सुब्बाविरुद्ध यतिबेला सामाजिक संजाल प्रयोगकर्ता खनिएका छन्।

सामाजिक संजालमा उनले यौन दुराचारीलाई साथ दिएर पीडित महिलालाई झनै पीडा दिएको भन्दै उनको विरोध भइरहेको छ।

सार्वजनिक भिडियो अनुसार सुस्मिता रेग्मी नाम गरेकी युवतीले आफूमाथि यौनहिंसा भएको विषय माल्भिका सुब्बालाई सुनाएकी थिइन्। माल्भिका महिला हिंसाको विषयमा सशक्त रुपमा प्रस्तुत हुँदै आएकी छिन्।

तर ती महिलालाई भने माल्भिकाले सहयोग नगरेको उनको गुनासो रहेको छ। आफूलाई यो विषयमा कुनै चासो नभएको माल्भिकाले उत्तर दिएको ती पीडित भनिएकी महिलाको भनाइ छ।

सुस्मिताले आफ्नो टिकटक तथा इन्स्टाग्राममा माल्भिकाले असहयोग गरेको विषय र कसरी यौन हिंसामा परिन् भनेर खुलाएकी छिन्।

भिडिओमा उनले पीडित भइसकेपछि अन्य धेरै सम्बन्धबाट दुःख पाएको पनि उल्लेख गरेकी छिन्।

उनले माल्भिकाले महिलाको हकको विरुद्धमा लड्ने झुठो आश्वासन देखाउने गरेको देख्या दिक्क लाग्ने पनि उल्लेख गरेकी छिन्। उनले माल्भिकालाई नक्कली अधिकारकर्मी भनेकी छिन्।

उनका अनुसार कुनै एक ब्युटी प्याजेन्टमा भाग लिँदा माल्भिका सोही प्रतियोगिताको कोरियोग्राफर थिइन्। सोही कार्यक्रममा संलग्न पुरुषबाट आफू बारम्बार बलात्कृत भएको उनको भनाइ छ।

यतिबेला माल्भिकाले ती युवतीसँग माफी मागेकी छिन्। आफूले त्यसबेला उनलाई सहयोग गर्न नपाएकोमा दुःख लागेको पनि उनको भनाइ छ।

माल्भिकाले आफूलाई अहिले यही विषयमा घृणाहरु आइरहेको र त्यसको आफू हकदार भएको पनि बताएकी छिन्।

उनले भनेकी छिन्,‘म कुनै बहानाबाजी गर्दिन। मलाई पुरा विवरण त याद छैन। तर, यो सम्झिएको छु कि तिमीले मलाई कल गरेकी थियौ र दुर्व्यवहार गरिएको विषयमा कुरा गर्न खोजेका थियौं। म यो पनि सम्झिन्छु कि तिमीलाई मेरो आवश्यकता परेको बेलामा मैले सहयोग गरिनँ। यो अक्षम्य छ र मैले तिमीबाट माफीको अपेक्षा गरेको छैन। तिम्रो कुरा नसुनेकोमा, तिमीलाई विश्वास नगरेकोमा र तिमीलाई सहयोग नगरेकोमा अत्यन्तै ग्लानी महसुस गरेकी छु। तिमीले मसँग रिसाउने सबै कारणहरु छन् र मैले जेजस्तो घृणाहरु पाइरहेको छु, त्यसको म हकदार छु।’

यद्यपी उनले आफैं डिप्रेसनमा परेकाले सो विषयमा सहयोग गर्न नसकेको बताएकी छिन्। उनी भन्छिन्,‘म आफैं डिप्रेसनसँग लडिरहेको थिए, त्यसबेला मैले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखेर यो विषयमा संलग्न नहुने निर्णय लिएँ। मैले त्यो समयमा उनलाई सहयोग गरेको भए मलाई थोरै गाह्रो हुन्थ्यो होला तर उनका लागि ठूलो मद्दत हुन्थ्यो होला।’