कोर एरियाको मतपरिणाम बाहिरियो, केशव स्थापितले गरे कमाल

काठमाडौं । सबैको ध्यान काठमाडौंको कोर क्षेत्रको मतपरिणाममा तानिएको छ । कोर क्षेत्र मानिएका वडाहरुको मतगणना सुरु भएपछि नेकपा एमालेलाई सुखद परिणाम बाहिरिएको छ । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ ।

कोर एरियाभित्र पर्ने यो वडामा एमालेका केशव स्थापितले सुरुवाती अग्रता लिएका छन् । यहाँको मतगणनामा स्थापितले पहिलो बलमै छक्का हानेका छन् । उनले यो वडाको सुरुवाती अपडेटमा फराकिलो अग्रता लिएका छन् ।

यो वडा महावौद्ध क्षेत्र पर्छ । हामीलाई प्राप्त पहिलो अपडेट अनुसार २०० मत गन्दा स्थापित एक्लैले ११८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहको ३२ मत आएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गरेकी छन् ।

यस्तै यता काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार बालेन शाहले दोस्रो स्थानमा रहेका केशव स्थापितसँग झण्डै ११ हजार मतको अग्रता कायम गरेका छन्।

एमालेका स्थापितभन्दा बालेन १० हजार ८ सय ५१ मतले अगाडि रहेका छन्। शाहले २३ हजार १९५ मत ल्याउँदा स्थापितले १२ हजार ३४४ मत पाएका छन्।यता तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ११ हजार ४४२ मत ल्याएकी छिन्। त्यस्तै हलोले २ हजार ३७१ मत ल्याएको छ।

उपमेयरतर्फ भने एमाले उम्मेदवारको मतान्तर निकै बढी छ। सूर्यले २३ हजार १७ मत ल्याइसक्दा लौरोले २ हजार ४४८, कलमले ७३७३, हलोले ५१६८ मत ल्याएको छ।

त्यस्तै, काठमाडौं महानगरपालिकामा कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले मत बाँडिएकोमा ‘अचम्म’ लागेको बताएकी छिन्। मतगणनास्थल राष्ट्रियसभा पुगेकी सिंहले संचारकर्मीसँग कुराकानी गर्दै आफ्नो पक्षमा आएको एक भोटको पनि सम्मान गर्ने बताइन्।

‘के कारणले मत बाँडियो भन्नेमा हामीलाई पनि अचम्मै लागिरहेको छ। हामी हेर्दैछौं,’ उनले भनिन्, ‘अझ बाँकी भएको कारणले राम्रो हुन्छ भन्नेमा विश्वसनीय छौं।’अहिलेसम्म आएको परिणामलाई सहज रुपमा लिएको भन्दै मेयरमा जित्नेमा आशावादी रहेको उनले बताइन्।