माधव नेपालको एस र प्रचण्ड माओवादीबीच पार्टी एकता हुदैछ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तहको अहिले प्राप्त मत परिणामबाट सन्तुष्ट देखिएका छन् । उनले जनताले माओवादी केन्द्रको एजेण्डालाई आत्मसात गरेको भन्दै खुशी व्यक्त गरेका छन् । अहिलेसम्मको मतपरिणाम हेर्दा माओवादी केन्द्र तेस्रो शक्तिको रुपमा देखिएको छ ।

पहिलो दल भने नेपाली कांग्रेस बन्ने भएको छ। एमाले दोस्रो स्थानमा छ । प्रचण्डले पार्टी पँक्तिलाई अब सशक्त रुपमा प्रदेश र संघको निर्वाचनको तयारीमा होमिन निर्देशन दिएका छन् ।

माओवादी केन्द्रका नेताहरुले चुनावी गठबन्धन सफल भएको भन्दै खुशी व्यक्त गरिरहेको बेलामा अध्यक्ष दाहालले पनि अबको ध्यान संघको चुनावमा केन्द्रित हुने बताएका छन् ।

आज साँझ पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानीमा दाहालले स्थानीय तहको निर्वाचनमा जनताले माओवादी केन्द्रलाई दिएको मत उत्साहजनक रहेको छ ।उनले छिट्टै माधव नेपालको पार्टीसँग एकताको लागि पहल गरिने पनि बताए । नेकपाकालिन अवस्थामा पनि दाहाल र माधव नेपाल एउटै कित्तामा उभिएका थिए ।

उनीहरुबीच ढिलो चाँडो एकता हुने चर्चा चलिरहेको थियो । अहिले स्थानीय तहको निर्वाचनको परिणामले पनि माओवादी केन्द्र र एकीकृत समाजवादी एकताको दिशामा अघि बढ्न सकारात्मक वातावरण सिर्जना गरेको छ । एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि बृहत्तर वामपन्थी एकताको लागि पहल गर्ने बताएका छन् ।

हिजोमात्रै प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा खनालले यस्तो बताएका थिए । प्रचण्डले भने सुरुमा एकीकृत समाजवादीसँग र लगत्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग एकता गर्ने तयारी गरेका छन् ।