रोचक मोडमा पुगेपछि पालुङटारको मतगणना स्थगित

गोरखा — पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । पालुङटार नगरपालिका–६ को वीरभद्र बुथको मतपेटिमा एक सिल नभएको भेटिएपछि मतगणना केही बेरअघि स्थगित भएको हो । एउटा ब्यालेट बक्सको मुचुल्कामा पाँच वटा र ब्यालेटमा चार वटा सिल भेटिएपछि विवाद भएको हो ।

सर्वदलीय बैठक बसेर मात्र मतगणना गर्ने तयारी थालिएको छ । पालुङटार नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । अन्तिममा पालुङटार नगरपालिका–६ वीरभद्र बुथको चलिरहेको छ । अन्तिममा प्रतिस्पर्धा पनि रोचक बनेको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका उमेदवार विवश चिन्तन र जनता समाजवादी पार्टी (जसपा)का उमेदवार प्रेम गुरुङबीच ३६१ को मतान्तर छ ।

माओवादीको चिन्तनले ५ हजार ७ सय ८३ र जसपाका गुरुङले ५ हजार चार सय २२ मत ल्याएका छन् । तेस्रोमा रहेका कांग्रेस उमेदवार दीपक वावु कँडेलले ४ हजार ७ सय ५५ मत ल्याएका छन् । वडा नम्बर ६ को अझै करिब १ हजार मतगणना बाँकी छ ।