बालेन मेयर नबन्दै योजना बनाउने काम धमाधम, भीम उपाध्याय उत्रिए एक्सनमा

काठमाडौं । सर्वाधिक चासोको महानगर काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह चुनिनेमा शाहका समर्थकहरु शतप्रतिशत ढुक्क देखिएका छन् । काठमाण्डौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार साह निर्वाचित हुनेमा उनका समर्थकहरु लगभग ढुक्क देखिएका हुन् । बालेनले अहिलेकै अनुपातमा मत पाएर मेयर निर्वाचित हुने उनीहरुको विश्वास छ।

बालेनले अन्य उम्मेदवारको तुलनामा दोब्बर भन्दा वढि मत ल्याएर अग्रता कायम राखेका छन् । अहिलेसम्मको नतिजा अनुसार बालेनले ११३४३ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६२५८ मत र कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५४०८ मत पाएका छन् ।

प्रारम्भिक चरणमै उनले पाएको मतको अनुपातका कारण समर्थकहरु हौसिएका छन् । उनीहरु बालेन मेयरमा निर्वाचित भएपछि महानगरमा के के काम गर्न सकिन्छ भनेर अहिले नै योजना पनि वनाउन थालेका छन् । जसका लागि सामाजिक सञ्जालमा सुझाव संकलन गर्न थालिएको छ।

बालेनका समर्थकहरु मध्ये नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले फेसवुकमा योजनाहरुका लागि सुझाव मागेका छन् । ‘बालेनले जितेपछि काठमहानगरको अधिकार र कार्यक्षेत्रको सिमा भित्र रहेर उनले केके काम प्राथमिकताका साथ कसरी गर्नुपर्ला? सुझाव दिनुहोला!’ भन्दै उनले लेखेका छन् ।