पालुङटारकाे नतिजा नआउँदै बाबुरामले भने- कांग्रेस र माओवादीले सेटिङ गरेर केही लाभ लिए

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नुभयो, केही लाभ भयो । तर, उहाँहरुमा पनि वापसमा तल मिलेको देखिएन ।’

निर्वाचन निष्पक्ष नभएको तर्फ संकेत गरेका उनले गठबन्धनले निरन्तरता पाउने पर्ने पनि बताए ।

उनले प्रतिनिधिसभा चुनावमा गठबन्धन होस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरे । चुनावमा धाँधली भएको विषयमा प्रश्न गर्दा बाबुरामले भने, ‘नेपालको लोकतन्त्र भर्खर हुर्किँदैछ । बच्चाले अलिकति फोहोर त गरिहाल्छ । त्यसलाई लिएर बच्चा नै खराब भन्न मिल्दैन ।’

साथै निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमाथि कारबाही हुनुपर्ने उनले बताए । गाेरखाकाे पालुङटार नगरपालिकामा एमाले र जसपावीच तालमेल भएपनि जसपाका मेयर पदका उम्मेदवार प्रेमबहादुर गुरूङ ठूलाे मतान्तरले पछि परेका छन् ।

नगर प्रमुख जिताउन कम्मर कसेर लागेका बाबुराम पालुङटारमा जसपा प्रमुख आउने छाँट काँट नदेखेपछि उनको यस्तो भनाई आएको हो ।