भरतपुरमा ठूलै लफडाको संकेत, एमालेका विजयले अग्रता लिएपछि माओवादीले गर्यो बबण्डर

चितवन । भरतपुरमा ठूलै लफडाको संकेत नेकपा (एमाले)का प्रतिनिधिको विरोधपछि भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मत गणना रोकिएको हो ।

उमेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबडी गरेको भन्दै एमाले प्रतिनिधिहरूले नाराबाजी गरेपछि गणना रोकिएको हो । दुवै पक्षबीच सहमतिको प्रयास भइरहेको छ । त्यसैगरी भरतपुर महानगरपालिको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले मत बढाउँदै लगेका छन् ।

गठबन्धनबाट रेनु दाहाल, एमालेका विजय सुवेदी र पौडेल मेयर पदका लागि चुनावी मैदानमा उत्रिएका थिए । भुइँकटहर चुनाव चिह्न पाएका पौडेलले वडा नम्बर १ मा ४३०, २ मा ४९४ र ३ मा ६४८ मत पाएका छन् । उनले निरन्तर मत बढाइरहेका छन् ।

अहिले वडा नम्बर ४ को मत गणना भइरहेको छ । वडा नम्बर ४ मा उनले हालसम्म ९६४ मत प्राप्त गरेका छन् । अब एक हजारको हाराहारीमा मत गन्न बाँकी छ ।

हालसम्म उनले २५३६ मत प्राप्त गर्दा रेनुले ५३१३, विजयले ५३१० मत पाएका छन् । यो समाचार तयार पार्दासम्म भरतपुरमा १५९३३ म गणना भएको छ । भरतपुरमा वडा नम्बर ६,१४ र १५ मा पौडेलको बलियो पकड रहेको बताइन्छ ।