बालेनले दोब्बर मतले अग्रता लिएपछि केशव स्थापितको प्रतिक्रियाः म अहिले ध्यान गरिरहेको छु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर को बन्ला ? भन्ने प्रश्नको उत्तरको प्रतिक्षा देश तथा विदेशमा रहेका नेपालीहरुले गरिरहेका छन् । मतगणना सुरु भएदेखि नै निरन्तर लिड गरिरहेका बालेन्द्र शाह यो समाचार तयार पार्दासम्म दोब्बर मतले अगाडी छन् । मतगणना जारी छ ।

मतगणना सुरू भएदेखि नै स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्। जारी मतगणनामा दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित र तेश्रो स्थानमा नेपाली कांग्रेसका सिर्जना सिंह छिन्। अहिले काठमाडौंको वडा नं १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको छ।

गणनामा पछि परे पनि नेकपा एमाले उम्मेदवार केशव स्थापितले आफैंले जित्ने दाबी गरेका छन्। उनले अहिले गणना भएका वडाका आधारमा राय बनाउन नहुने बताए। ’मतगणना भित्री सहर प्रवेश नभएसम्म राय बनाउन जरुरी छैन,’ स्थापितले भने, ’जित्ने मैले नै यत्ति लेखेर राख्नुस्। यसमा सन्देह नगर्नुहोस्। बालेन तेश्रो हो।’

उनले कांग्रेस उम्मेदवार सिर्जना सिंहको पनि मत बढ्ने उल्लेख गरे। उनले आफ्नो मत बढ्ने दाबी गर्दै केही घन्टा कुर्न आग्रह गरे। ’केही घन्टापछि हेरौं,’ स्थापितले भने, ’म अहिले ध्यानमा छु।’