काठमाडौं महानगरको मतगणनामा ढिलाइ भएपछि निर्वाचन आयोग उत्रियो एक्सनमा, अब धमाधम मतगणना हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा ढिलाइ हुने संकेत देखिएको छ । शनिवार बिहान १० बजेदेखि मतगणना शुरु भए पनि द्रूत गतिमा अगाडि बढ्न सकेको छैन ।

शुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । दलका प्रतिनिधिको संख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

निर्वाचन कार्यालयका अधिकृत प्रेमकुमार श्रेष्ठले विवाद आउन नदिने गरी सानो संख्यामा परीक्षणका रुपमा मतगणना थालिएको बताए । कार्यालयले छ÷ सात स्थानबाट एकसाथ गणना गर्ने तयारी गरेको छ ।

वडा नं १ बाट माथि र वडा नं ३२ बाट तल गन्दै ल्याउने गरी शुरुआत गरिएको छ । यसरी हाल वडा नं १ र ३२ को मतगणना जारी छ । प्रारम्भिक विवरणअनुसार हालसम्म काठमाडौं महानगरका मेयर पदका उमेदवार सिर्जना सिंहले बालेन्द्र साहको भन्दा सामान्य अग्रता लिएकी छन् ।

काठमाडौं महानगरको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारको संख्या बढी हुँदा गणनामा पनि ढिलाइ भइरहेको देखिएको छ ।