माओवादीले भन्योः कांग्रेसमा अलिकति पनि नैतिकता देखिएन्

रोल्पा ः नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले स्थानीय तह निर्वाचनलाई संविधान च्याग्ने र बचाउनेबीचको जनमत संग्रहको संज्ञा दिएका छन्। रोल्पाको गंगादेवमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले परिवर्तनलाई रक्षा गर्ने कित्तामा आफूहरु उभिएको दाबी गरेका हुन्।

‘केपी ओलीजी आज राजावादी, पश्चगामी र प्रतिगामी शक्तिहरुसँग हातेमालो गर्ने ठाउँमा पुग्नुभएको छ। आफ्नै कर्मले संघमा र प्रदेशमा सरकार छैन। ’,उनले भने,‘हामी परिवर्तनलाई रक्षा गर्ने कित्तामा उभिएका छौं। संविधान बचाउने र च्यात्ने, लोकतान्त्रिक अधिकार र परिवर्तनका एजेण्डाहरुलाई रक्षा गर्ने या भत्काउने शक्तिबीचको जनमत संग्रहको रुपमा स्थानीय तहको निर्वाचन भइरहेको छ।’

नेता पुनले निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने भन्दै त्यसले मात्र संविधान र लोकतन्त्रको रक्षा तथा हजारौं शहीदहरुको बलिदानबाट स्थापित वर्तमान व्यवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरे। उनले पाँच दलीय गठबन्धन सुदृढ र मजबुत बन्दै गएपछि ओली पराजित मानसिकतामा पुगेको दाबी गरे। ओलीले जनता झुक्याउन बाहिर एकथरि र भित्र अर्कोथरि कुरा गर्ने गरेको आरोप लगाए। ‘बाहिर धाकधक्कु लगाउनुभयो भने उहाँ धेरै गल्नुभएछ भन्ने हुन्छ। बाहिर एकताको विरोध गर्नुभयो भने एकता खोज्दै हुनुहुन्छ र एकताको कुरा गर्नुभयो भने टुटफुट गर्दै हुनुहुन्छ भन्ने हामी बुझ्छौं। ओलीजी जे भन्नुहुन्छ, त्यो गर्नुहुन्न। हिजो यो कुरा हामी मात्र बुझ्थ्यौं, तर आज आमजनताले चिन्ने मौका पाएका छन्’, उनले भने।

ओली र एमालेको मुल नेतृत्व दक्षिणपन्थी यात्रामा रहेको भन्दै उनले संविधान च्याततुच पर्ने, व्यवस्था कमजोर पार्ने र अन्ततः पुरानै व्यवस्थामा फर्काउने उद्देश्य ओलीले राखेको बताए। ‘ओलीको संगत राजावादी र दक्षिणपन्थीहरुसँग छ। प्रतिगामीहरुसँग छ। ओली निरंकुश र प्रतिगामी हो भन्ने तथ्यहरुले पुष्टि गरेको छ। यो उहाँका व्यवहार र संगतहरुले पुष्टि गरेको छ’, पुनले भने।

रोल्पाको कांग्रेसमा राजनीतिक नैतिकता देखिएन
नेता पुनले रोल्पाको स्थानीय कांग्रेस नेतृत्वले पाँच दलीय गठबन्धनको भावनाविपरीत गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गरेकामा आपत्ति जनाए। गठबन्धन संस्कृति र राष्ट्रिय आवश्यकताविपरीत कांग्रेसले रोल्पामा एमाले र विप्लव नेतृत्वको नेकपासँग चुनावी तालमेल गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

आफूसमेत संलग्न पाँच दलीय कार्यदलले ०७४ को निर्वाचनमा सत्ता गठबन्धनका दल निर्वाचित भएका स्थानीय तह सोही दलले लिने र त्यसमा सहमति नभए मित्रवत प्रतिस्पर्धा गर्ने तर गठबन्धन बाहिर तालमेल नगर्ने निर्णय गरेको स्मरण गर्दै पुनले रोल्पामा भने एमाले र विप्लव समूहसँग कांग्रेसले गठबन्धन गरेको बताए।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यदल संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको भावनाविपरीत अरु दलसँग तालमेल नगर्न दिएको निर्देशन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनले लत्याएको उनको भनाइ थियो। पुनले आफूहरुविरुद्ध कांग्रेस, एमाले र विप्लव समूहले जिल्लाभर गठबन्धन गरेको भन्दै त्यसलाई सहर्ष स्वीकार गरिने बताए। उनले जिल्लाका १० वटै पालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी हुने दाबी गरे।