चुनाव प्रचार क्रममा जब बर्षमान पुनको हत्या प्रयास भयो, पुन भन्छन्ः संयोगले बाचे

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले निर्वाचनमा सहभागी हुनुलाई दक्षिणपन्थी संशोधनवादी र गद्दारीको बाटो भन्ने विप्लव समूह निर्वाचनमार्फत मूल प्रवाहमा समाहित हुनु खुसीको कुरा भएको बताए। विप्लव समूह संविधान, गणतन्त्र र संघीयताको बाटोमा भएको भन्दै उनले खुसी व्यक्त गरे।

पुनले निर्वाचनमा सहभागी भएकामा विप्लवलाई स्वागत गरे। ‘हामीले स्थानीय सरकार र संघीयता क्रान्तिकारी एजेण्डा भनेका थियौं। हिजो तपाईंहरुले यसलाई दक्षिणपन्थी भन्नुभयो। गद्दारी र संशोधनवादको बाटो भन्नुहुन्थ्यो। तर, आज यही बाटोमा आउनुभएको छ। खुसी लागेको छ। म विप्लवजीलाई यो बाटोमा स्वागत गर्दछु।’

पुनले ०७४ को आमनिर्वाचनमा चुनाव प्रचारमा जाँदा विप्लव समूहले हत्या गर्ने उद्देश्यले बम हानेको स्मरण गरे। गाडीमा बम लागेर क्षति भए पनि आफू संयोगले बाँचेको सुनाउँदै उनले त्यतिबेलै आफूले कुनै बेला विप्लव चुनावमा आउने र त्यहाँबाट चोइटिएको असन्तुष्ट समूहले उनीमाथि नै बम हान्न सक्ने कुरा सँगै भएका नेताहरुलाई सुनाएको बताए। ‘मैले त्यतिबेला भनेको थिएँ अबको पाँच वर्षपछि विप्वल गलत बाटो छाडेर चुनावमा आउनुहुन्छ ।

विप्लव चुनावमा आउने, उहाँबाट सानो चोइटो छुटिएर बम हान्छ’, उनले भने, ‘ कहिले काहीं भविष्यवाणीसही हुँदोरहेछ। आज विप्लवजीहरु बम हान्न छाडेर चुनावमा आउनुभएको छ। फेरि धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वली विप्लवलाई कारबाही गरेर बहिस्कार गर्नतिर लाग्नुभएको छ।

मलाई लाग्छ अब मंसिरमा चुनाव हुन्छ। उस्तै परे विप्लवजी रोल्पामा चुनाव लड्न आउनुहुन्छ। नभए कोही विप्लव समूहका साथी चुनाव लड्नुहुन्छ। अनि उहाँसँगै चोइटिएको समूह आएर उहाँलाई बम हान्नुहुन्छ। त्यतिखेर हाम्रो पालो नै आउँदैन।’