काठमाडौंका मेयरमाथि शृंखलाको टिप्पणी : बालेन शक्तिशाली, सिर्जना शान्त, स्थापित आलोचना नस्वीकार्ने

काठमाडौं– पूर्वमिस नेपाल शृंखला खतिवडाले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाको मेयरका रुपमा रहेका उम्मेदवारहरूका बारेमा आफ्नो धारणा प्रस्तुत गरेकी छिन्। इन्स्टाग्राम स्टोरीमार्फत उनले काठमाडौंमा मेयरको उम्मेदवारका रुपमा रहेका बालेन शाह, सिर्जना सिंह, केशव स्थापित र समीक्षा बास्कोटामाथि आफ्नो धारणा दिएकी छन्।

उनले काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवारका रुपमा रहेका बालेन कुनै राजनीतिक दलबाट नभएपनि युवा मतदाता र राजनीतिक पार्टीबाट वितृष्णा भएकाहरूमाथि प्रभाव जमाउन सक्ने भएको बताएकी छिन्। उनले बालेन टिम बनाउन र टिममा काम गर्नमा इच्छुक भएको उम्मेदवार रहेको बताएका छन्। बालेनले ‘राजनीतिमा युवा’ भन्ने संकेतलाई थप बलियो बनाएको बताइन्। सँगै अघिल्लो स्थानीय तहको चुनावमा काठमाडौं महानगरमा उम्मेदवार रहेका रञ्जु दर्शना र किशोर थापापछि बालेन शक्तिशाली र राम्रो उम्मेदवार रहेको बताएकी छन्।

शृङखलाले बालेनलाई सजिलो रुपमा हेर्न नहुने पनि बताएकी छिन्। उनी वैकल्पिक शक्तिको रुपमा रहेकाले उनी शक्तिशाली भएको शृङखलाले लेखेकी छिन्। असहज भए पनि उनले उपत्यकाका नेवार समुदायको समर्थन पाइरहेको शृङखलको टिप्पणी छ।

त्यस्तै, गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहको घोषणा पत्र निकै राम्रो भएको शृङखलाको टिप्पणी छ। उनले सिर्जना काठमाडौं हाक्न सक्ने सम्भावित महिला भएको बताएकी छिन्। शृङ्खलाले सिर्जना धैर्य, शान्त र व्यावहारिक उम्मेदवार रहेको बताएकी छिन्।

सँगै शृङखलाले सिर्जना सिंहको बारेमा चर्चामा रहेको नातावाद महत्त्वको विषय नभएको बताएकी छिन्। उनले सिंहको आफ्नै राजनीतिक यात्रा भएकाले उनीमाथि नातावादको आरोप लगाउन आवश्यक नभएको बताएकी छिन्। आफूले सिंहको बारेमा धेरै नसुनेको समेत बताएकी छिन्।

एमालेका तर्फबाट उम्मेदवार रहेका स्थापित आलोचना र आरोप सहन नसक्ने किसिमको भएको शृङखलाको टिप्पणी छ। स्थापित मेयर पदका लागि उम्मेदवारका रुपमा उठिरहँदा जातीय राजनीति गरिरहेको उनले बताएकी छन्। शृङखला लेख्छिन्, ‘उनीसँग २५ वर्षअघि मेयर हुँदाको राम्रो काम गरेको श्रेय होला। तर, समय बद्लिएको छ। उनी जातीय राजनीति गर्ने प्रयासमा छन् जसले काठमाडौंको चुनावलाई पहिल्यै दुखित बनाएको छ।’

त्यस्तै, विवेकशील साझाका तर्फबाट उम्मेदवार रहेकी समीक्षा बास्कोटा पूर्वतयारीका साथ उम्मेदवारका रुपमा आएको देखिएको शृङखलाको टिप्पणी छ। उनी आत्मविश्वासी र जानकार देखिएको शृङखलाले लेखेकी छन्।

‘एउटा वकिलले कानुन र नीतिहरूबारे बुझ्छ,’ शृङखलाले लेखेकी छिन्, ‘उनी हालसम्मको बहसहरूमा सबैभन्दा बलियो रुपमा प्रसतुत भएकी छन्। युवा भएकाले उनी युवा उपस्थिति बुझ्ने र उनीहरूको प्रतिनिधित्व गर्ने देखिएकी छन्।’