कीर्तिमानी सङ्गीतकार श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार-२०७७’

काठमाडौँ । २०७७ सालको ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठलाई प्रदान गरिएको  छ । शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गर्नु भएको हो ।

सङ्गीत विधामा ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ पाउनु भएका  श्रेष्ठले विश्वका १२ भाषामा सङ्गीत गर्दै २०७७ सालमा गिनिज वर्ल्ड रेकर्ड कायम गर्नु भएको थियो ।  ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ पाउँदा आफूले अझ धेरै जिम्मेवार वोध गरेको श्रेष्ठले बताउनुभयो ।

यस्तै गायन विधामा निशा देशार र शिव परियार, रचना विधामा अरुण तिवारीले पनि ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ पाउनुभएको छ ।

राष्ट्रपति भण्डारीले नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान २०७७ बाट  गायन विधामा नुपुर बनर्जी भट्टचार्य, वाद्य बादनमा नारायणदास कार्की ढली, साउन्ड इन्जिनियरमा प्रदीप उपाध्यक्ष, गायनमा उमेश पाण्डे, कुन्ती मोक्तान र सीताराम पोखरेल, अर्केष्ट्रा–सङ्गीतमा राजकुमार श्रेष्ठ तथा शास्त्रीय सङ्गीतमा प्रभु ढकाललाई नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान २०७७ बाट सम्मानित गर्नुभएको छ । रचनामा एस.पी. कोइराला, बी.बी. थापा, सहदेव ढुङ्गाना, शिला पन्त, ज्ञानेन्द्र गदाल, हरिभक्त बुढाथोकी र शीतल कादम्बिनी सम्मानित हुनुभएको छ ।

समाजसेवातर्फ धुर्वकुमार श्रेष्ठ, सुनिल शर्मा, ठाकुरप्रसाद ढुङ्गाना, डा. कल्याणराज शर्मा, चिरन्जिवी थापा, डण्डपाणि कडेल (डि.पी), द्विराज शर्मा शिवाकोटी र नवराज केसी सम्मानित हुनुभएको   छ । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ मार्फत् रचनामा डि.पि दाहाल, सङ्गीतमा अर्जुन पोख्रेल तथा गायनमा सिन्धु मल्ल र अजर जंगम सम्मानित हुनुभएको छ ।

नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार २०७७ मार्फत शास्त्रीय सङ्गीतमा अमृतहरि तुलाधर योगी र नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार २०७७ मार्फत लोकसङ्गीत विधामा कृष्ण कँडेल सम्मानित हुनुभएको छ ।