प्रचण्डकी छोरी भएर मैले केही अवसर पाएको छैन,मैले दुःख मात्रै गरेको छु – रेणु दाहाल

चितवन-भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमा रहेर कुलप्रसाद काफ्लेले मेयरकी उमेदवार रेणु दाहालसँग गरेको कुराकानी–

१. चुनावको तयारी र प्रचारप्रसारका लागि घरदैलोमा हिँडिरहनु भएको छ । कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
-जनतामा जाँदा सकारात्मक प्रतिक्रिया आएको छ । जनतामा उत्साह छ । विकासका लागि रेणु दाहाल भन्‍ने छ । ठूला आयोजनालाई निरन्तरता दिन र समयमै सम्पन्‍न गर्नका लागि पनि रेणु दाहालको विकल्प छैन । उहाँबाहेक अरुले गर्न सक्दैन भन्‍ने आममहानगरबासीको बुझाइ छ । जनस्तरमा मैले सोचेको भन्दा पनि राम्रो उत्साह पाएको छु ।

२. पहिलो कार्यकालमा के गर्न सक्नुभएन र फेरि दोस्रो कार्यकालका लागि मेयरमा उमेदवारी दिनुपर्‍यो ?
–पहिलो कार्यकालमा नसकेको भन्‍ने होइन । दीर्घकालीन सोचका साथ भरतपुरको विकास र समृद्धिका लागि हामीले जग तयार गर्‍याैँ । अब यसलाई पूर्णता दिनका लागि अब एक कार्यकाल चाहियो । जसले बच्चा जन्माउँछ, बच्चाको माया आमालाई जति त हुँदैन नि । जति पनि अन्तर्राष्ट्रियस्तरका, राष्ट्रिय गौरवका आयोजना अगाडि बढेका छन् । जस्तो, नारायणी तटबन्धनको पाँच अर्बको आयोजना छ । त्यसलाई सुरुवात हामीले गर्‍याैँ । अब सम्पन्‍न गर्नु छ ।

नारायणी तटबन्ध भरतपुरबासीको व्यग्र प्रतिक्षाको विषय थियो । वर्षेनि बाढीका कारण हुने धनजनको क्षति हुने गर्थ्याे । यसको दीर्घकालीन समाधानका लागि आयोजना अगाडि बढेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूरा गर्नु छ । ठूला सडक र पूर्वाधार बनेका छन् । ६ र ४ लेनका सडक बन्दै छन् । महानगरीय चक्रपथ योजना छ । यी सबै योजना पूरा गर्नुछ । नारायणी नदीलाई ‘सी बिच’ मोडलको रुपमा विकास गर्नुछ ।

महानगरको आफ्नै प्रशासकीय भवन भर्खर शिलान्यास गरेका छौँ । महानगरपालिकाले अघि सारेका थुप्रै नीतिगत काम अधूरा छन् । अधूरा रहेका काम सम्पन्‍न गर्ने दायित्व छ । भरतपुरको भविष्य र जनताको अपेक्षालाई हेरेर पनि अब एक पटक कार्यकाल भयो भने यी सबै काम गर्न सक्थेँ । भरतपुरलाई हेर्न र गर्व गर्न लायक बनाउने भनेर उमेदवारी दिए । मलाई व्यक्तिगत रुपमा रहर त थिए । तर, समग्र आवश्यकतालाई बुझेर मेयरका लागि दोस्रो पटक पनि उमेदवारी दिएको छु ।

३. प्रचण्डकी छोरी भएकैले तपाईंले धेरै अवसर पाएको भन्‍ने गर्छन् नि । यसमा तपाईंको भनाइ के छ ?
–प्रचण्डकी छोरी भएर मैले केही अवसर पाएको छैन । मैले दुःख मात्रै गरेको छु । व्यक्तिगत इच्छा, चाहना छाडेको छु । हिजो पनि १० कक्षा पढ्दा पढ्दै कापीकिताब फालेर मुलुक परिवर्तनका लागि संघर्षमा होमिएकी हुँ । त्यसबेलादेखि आजसम्म लगभग २७ वर्ष भयो, म निरन्तर जनताको सेवामा छु । जनयुद्धमा बाँचेर आएको छु, मर्न पनि सकिन्थ्यो ।

पार्टीको जिम्मेवारी लिएर कहिले रोल्पा त कहिले भारत पुगे । यहाँ मेयरमा लड्नुअघि काठमाडौँमा पार्टीको सेक्रेटरी थिए । अहिले चितवनमा पार्टीको इन्चार्जका रुपमा छु । मेयरका रुपमा एकचोटी परीक्षण पनि भएँ । जनताका पक्षमा कति काम गर्न सकेँ छर्लङ्ग देखिएको छ । जनताका हरेक सवाल शिर ठाडो बनाएर जवाफ दिनसक्छु । यसमा मलाई गर्व छ । प्रचण्डकी छोरी भएर राष्ट्रको लागि देन मात्रै गरेको छु । आफ्नो लाभको लागि गरेको छैन ।

४. गठबन्धनकै दलमध्येको कांग्रेसको असन्तुष्ट पक्षबाट जगन्‍नाथ पौडेलले मेयरमा स्वतन्त्र उमेदवारी दिनुभएको छ । यसले गठबन्धनलाई कति प्रभाव पार्ला ?
–खासै प्रभाव पार्लाजस्ताे मलाई लागेको छैन । किनकी गठबन्धनका दलको साझा उमेदवारका रुपमा मेयरको आधिकारी उमेदवार म नै हो । कांग्रेसका केन्द्रीय नेता, प्रधानमन्त्री एवं सभापतिदेखि लिएर शीर्षस्त सबै नेताले उहाँ (पौडेल)लाई फिर्ताको लागि आग्रह गर्नुभयो । पार्टीले गरेको आग्रहलाई पनि जगन्‍नाथजीले स्वीकार गर्नुभएन । उहाँले स्वतन्त्र उमेदवारी दिनुभएको छ । देशभर अन्यत्र पनि स्वतन्त्र उमेदवारी दिँदाखेरी कस्तो भयो भनेर इतिहासले पनि पुष्टि गर्छ ।

स्वतन्त्र उमेदवारी दिएर पार्टीको सर्लक्कै मत जान्छ भन्ने लागेको छैन । दोस्रो कुरा यो गठबन्धन कुनै दल विशेष होइन । राष्ट्रको भविष्यलाई हेरेर, आवश्यकतालाई बुझेर, संविधान र उपलब्धिका पक्षधरधर मिलेर गठबन्धन बनेको छ । जनयुद्धपछि विस्तृत शान्ति सम्झौता र २०६२/६३ को जनआन्दोलनदेखि आएका हामी सहयात्री पार्टीबीच गठबन्धन भएको छ ।

तत्कालीन अवस्थामा राज्यपक्षबाट प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइराला र विद्रोही पक्षबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्थ्यो । हामीहरु यहाँसम्म आएका छौँ । संविधान जारी गर्‍यौँ । यी सबै परिवर्तनका हिमायती हामी हौँ । परिवर्तनको विरोधी राप्रपालाई बोकेर एमाले हिँडिरहेको छ ।

गणतन्त्र, संघीयता र परिवर्तनका विरोधी अर्काे खेमामा छन् । हामी अग्रगामी पक्षधर यता छौँ । जगन्‍नाथजीले यी सबै विषयवस्तु, देशको आवश्यकतालाई बुझ्न सक्नुभएन कि जस्तो लाग्छ ।