बालेन शाहले कति भोट ल्याउलान् ? यस्तो छ आंकलन

स्थानीय निर्वाचनको मिति नजिकिएसँगै सबैको ध्यान कुन उम्मेदवारले कति मत ल्याउलान् भन्नेतर्फ देखिन्छ। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन यसपाली फरक र रोचक बन्ने देखिएको छ । उम्मेदवारहरू घरदैलोमा पुगेर मत माग्न ब्यस्त छन् । काठमाडौं महानगरमा देखिएको चुनावी रौनक झन् रोचक बनेको छ । अहिले सबैको चासोको केन्द्र काठमाडौं महानगर बनेको छ ।

काठमाडौंमा नेपाली कांग्रेसकी सिर्जना सिंह, नेकपा एमालेका केशव स्थापित, राप्रपाका मदनदास श्रेष्ठ, विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटा र स्वतन्त्र उम्मेदवार बालेन शाह अहिले सबैको नजरमा परेका छन् । यीमध्ये पछिल्लो समय युवाहरुको आकर्षण र्‍यापर बालेन शाहमाथि पर्न थालेको छ । त्यसैले बालेन शाहले स्थानीय तह निर्वाचनमा उल्लेख्य मत ल्याउने र यसले मेयरमा को निर्वाचित हुनेछ भन्ने निर्धारण गर्ने अड्कलबाजी पनि गर्न थालिएका छन् ।

त्यसो त बालेन शाह आफैंले मतको संख्या लिएर चुनावी अभियानमा आफूलाई सरिक बनाएका छन् । उनले यसपटक निर्वाचनमा ९० हजार ८ सय ३५ मत ल्याएर आफू निर्वाचित हुने तथ्यांक पेश गरिरहेका छन् । उनको यो दाबी भनेको २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका नेकपा एमालेका विद्यासुन्दर शाक्यले ल्याएको मतभन्दा झन्डै ३० हजारबढी मत हो । २०७४ मा शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएका थिए । उनीसँग पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए ।

२०७४ सालको चुनावी नतिजालाई हेर्ने हो भने बालेनले दाबी गरिरहेको यो मत तत्कालीन विवेकशील पार्टी र साझा पार्टीका दुई उम्मेदवार रन्जु दर्शना र किशोर थापाले ल्याएको मत जोड्दा आउने प्रतिफलको ठ्याक्कै डबल हो । त्यति बेला दर्शना र थापाले क्रमशः २३ हजार ४ सय ३९ र १८ हजार ४९६ मत ल्याएका थिए । दुवैको मत जोड्ने हो भने ४१ हजार ९ सय ३५ मत हुन आउँछ । त्यसैले बालेनले यसपटक दाबी गरेको ९० हजार ८ सय ३५ यी दुईको मतको योगफलको डबलभन्दा बढी हो । यसपटक काठमाडौं महानगरमा ३ लाख २ सय ४२ मतदाता रहेका छन् । यो अघिल्लो पटकको भन्दा २० हजार ९ सय ३३ बढी हो ।नयाँ मतदाताको संख्यालाई आधार मान्ने हो र बालेनको दाबीलाई लिने हो भने उनले नयाँ मतदाता सबैलाई मात्र तानेर पुग्दैन, यसअघि विद्यासुन्दर शाक्य, राजुराज जोशी, रन्जु र किशोरलाई मत दिएका मतदातालाई पनि आफूलाई मत हाल्नु पर्ने बनाउनु पर्ने हुन्छ ।

यस्तो छ विगत : २०७४ सालको स्थानीय तह निर्वाचनमा समाजिक सन्जाल तथा युवाहरुमा सबैभन्दा बढी चर्चामा थिइन्, रन्जु दर्शना । उनी चर्चामा आउनुको कारण उनको पार्टीगत हैसियत पनि थियो । त्यति बेला विवेकशील पार्टीले लामो समयदेखि विभिन्न अभियानहरु चलाइरहेको थियो, माइतीघरमा धर्ना र प्लेकार्ड बोकेर ऊ उभिएको महिनौँ भइसकेको थियो । त्यसैले रन्जुलाई युवा मतदाताले मात्र होइन, काठमाडौं महानगरका अरु मतदाताहरुले पनि मत दिएको अनुमान गर्न सकिन्छ । त्यति बेला उनले मेयर पदमा विशेषतः कांग्रेसका मतदाताहरुको मत काटेको अनुमान गरिन्छ ।यसको कारण के पनि हो भने त्यति बेला वडाध्यक्षहरुमा कांग्रेसले ल्याएको मतभन्दा कम मत ल्याएका थिए, मेयर उम्मेदवार राजुराज जोशीले ।

२०७४ सालमा कांग्रेसका वडाध्यक्षका सबै उम्मेदवारको मत जोड्ने हो भने ६३ हजार ३ सय २८ पुगेको थियो । तर, मेयरमा जोशीले ४५ हजार मात्र मत ल्याएका थिए । यसपटक कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई एउटा पक्ष सहज देखिन्छ । त्यो हो, २०७४ सालमा मेयर पदमा नेकपा माओवादीका उम्मेदवारले ल्याएको ७ हजार ९ सय ६ मत पनि उनको पक्षमा पर्ने देखिन्छ । त्यति बेला तत्कालीन नयाँ शक्तिले पनि मेयरमा ६ हजार ५० मत ल्याएको थियो । अहिले सत्तारुढ गठबन्धनमा भएकाले र सिर्जना सिंह गठबन्धनकी उम्मेदवार भएकाले उनले यी मतलाई पनि आफ्नो पक्षमा पार्न सकिन् भने उनको मत बढ्ने देखिन्छ । त्यस्तै, थपिएका २० हजारभन्दा बढी मतदातालाई पनि उनले टार्गेट गर्न सक्छिन्, जसले गर्दा उनको मत बढ्ने देखिन्छ ।

त्यसो त २०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा भन्दा एमालेका वडाध्यक्षहरुले बढी मत पाएका थिए । मेयरमा निर्वाचित शाक्यले ६४ हजार ९ सय १३ मत ल्याउँदा काठमाडौं महानगरका ३२ वडामा एमालेका उम्मेदवारलाई ७३ हजार १ सय २४ मत दिइएको थियो ।यसको अर्थ हो, त्यति बेला विवेकशीलकी रन्जु दर्शना र साझा पार्टीका किशोर थापाले दुवै पार्टीबाट मत कटाएका थिए, मेयर पदका लागि ।

यसपटक चर्चा र चासोको केन्द्र बनेकाले बालेनले पनि कांग्रेस र एमाले दुवैका मत काट्न सक्ने अनुमान गर्न सकिन्छ । ३१ वर्षका स्ट्रक्चरल इन्जिनियर बालेनलाई कलाकारहरुले पनि खुलेर समर्थन गर्न थालेका छन्, उनको पक्षमा मत माग्न थालेका छन् । त्यसैले यसपटक बालेनले स्वतन्त्र उम्मेदवारको हैसियतमा मूलधारका राजनीतिक पार्टीहरुलाई चुनौति खडा गर्ने देखिन्छ । अर्कोतिर, यसअघिको जस्तो विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले रन्जु दर्शनाले र किशोर थापाले ल्याएका मतलाई संरक्षण गर्न सक्ने वा नयाँ मतदाता थप्न सक्ने सम्भावना पनि कम देखिएको छ । यसको मुख्य कारण हो, पछिल्लो समय साझा विवेकशील पार्टीमा देखिएको विवाद ।

पार्टी फुटको संघारमा पुगिसकेको अवस्थामा उनले यसअघिका पार्टीका मतादातालाई होल्ड गर्न सक्ने देखिँदैन । फेरि काठमाडौं महानगरभित्र विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको बढी प्रभाव देखिन्छ । यसले गर्दा पनि समीक्षाका लागि यसअघि रन्जु र किशोरले ल्याएको मत संरक्षण गर्नु नै ठूलो चुनौति देखिन्छ । त्यस्तै, राप्रपामा पनि पछिल्लो समय देखिएको फुटका कारण मदनदास श्रेष्ठले पनि यसअघि उपमेयरमा राप्रपाबाट राजाराम गौतमले ल्याएको जस्तो ३० हजार मत कटाउन सक्ने देखिँदैन । फेरि त्यति बेला राप्रपाले एमालेसँग चुनावी तालमेल गरेको थियो ।

राप्रपाका वडाध्यक्षका उम्मेदवारहरुको मत जोड्दा १० हजारभन्दा केही बढी देखिन्छ । तर, यसपटक विभाजित भएको राप्रपाका लागि यही मत संरक्षण गर्न पनि निकै ठूलो चुनौति देखिन्छ । विवेकशील साझा पार्टी र राप्रपामा देखिएको विभाजनको प्रत्यक्ष फाइदा बालेन शाहलाई पुग्ने देखिन्छ । बालेनलाई यसपटक नेपाली कांग्रेस र नेकपा एमालेका मेयर उम्मेदवारहरु ‘पपुलर’ नहुनुले पनि फाइदा पुग्न सक्छ । नेपाली कांग्रेसले मेयर उम्मेदवार बनाएकी सिर्जना सिंहलाई परिवारवादको आरोप लागिसकेको छ । उनी राजनीतिमा ३ दशकभन्दा बढी समयपछि कमब्याक गर्न खोजिरहेकी छिन् ।

प्रकाशमान सिंह पत्नी भएकै कारण उनलाई टिकट दिइएको भन्दै नेपाली कांग्रेसका समर्थकहरुले पनि कांग्रेसको यस्तो चलनलाई अन्त्य गर्नु पर्ने आवाज उठाउन थालेका छन् । यसले स्पष्ट देखाउँछ– कांग्रेसका मतदातालाई नै पनि सिर्जनामाथि विश्वास र भरोसा छैन । यसको विकल्पका रुपमा र परिवर्तनका रुपमा बालेनलाई अगाडि ल्याउन कांग्रेसका मतदाता पनि अगाडि सर्न सक्छन् । नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित जति जति चुनावी दिन नजिकिँदै छ, त्यति त्यति विवादको भुङ्ग्रोमा पर्दै गइरहेका छन् । चार वर्षअघि देखि महिलामाथि दुव्र्यवहार गरेको आरोप लागेका स्थापितसँग काठमाडौं महानगरका सचेत मतदाताहरु रुष्ट छन् । यस्तो अवस्थामा नेकपा एमालेलाई नै भोट दिने मतदाताले पनि विकल्पका रुपमा बालेनलाई अगाडि सार्न सक्छन् । जसले गर्दा बालेनले मेयर पदमा नेकपा एमालेको मत पनि पर्याप्त काट्न सक्ने अनुमान गर्न सकिन्छ ।