बागी र एमाले मिल्दा पनि रेनुकै जित हुने हिसाबकिताब बाहिरिएपछि…

काठमाडौं । स्थानिय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको चुनावलाई प्रतिक्षित राष्ट्रिय प्रजातन्त्र पार्टीका चितवन जिल्ला अध्यक्ष बद्रीनाथ तिमल्सिना २०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार थिए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेनु दाहाल पनि त्यही पदमा उम्मेदवार थिइन्। रेनुले २ सय मतले चुनाव जित्दा तिमल्सिनाले ६ हजार ८ सय ४२ मत ल्याएका थिए।

राप्रपाका स्थापित र प्रभावशाली भनेर चितवनमा चिनिएका तिमल्सिना त्यही वर्ष कात्तिक १८ गते नेकपा माओवादी केन्द्र प्रवेश गरेका थिए । उनै तिमिल्सिना अहिले रेनु दाहालको चुनावी प्रचार कमाण्डर भएका छन्। पाँच वर्षअघि ६ हजार बढी मत ल्याएका तिमल्सिनाले यसपटक त्यसक्षेत्रको सबै मतको हिसाब किताब गरिरहेका छन्।

एक चर्चित अनलाइन समाचार पोर्टलसँगको कुराकानीमा तिमिल्सिनाले त्यसबेला तपाईँले ६ हजार मत ल्याउनुभएको थियो, यो ५ वर्षमा माओवादीको मत कति बढ्यो? भन्ने प्रश्नको जवाफ दिदैं भन्छन्, तीन आधारमा मत बढेको छ। पहिलो, माओवादी केन्द्रकी रेनुले जितेपछि गरेको विकासको काम। यहाँको विकासको कुरै नगरौं। यहाँ आउने जो कोही पनि ५ वर्ष अगाडिको चितवनमा आएको परिवर्तन देखेर दंग पर्छन्।

यति धेरै काम भएका छन् कि, मेयर भएर यत्रो काम गर्न सकिन्छ भन्ने कुरा सपनामा पनि सोचिएको थिएन। विशेषगरी राष्ट्रिय गौरवका आयोजना, प्रत्येक टोल पुग्ने चिल्ला बाटा, शिक्षा, स्वास्थ्य, यातायातमा गरिएका विकासका लागि परेको अर्बौंको बजेट। बजेटले मात्र हुँदैन, काम पनि हुन्छ भन्ने उदाहरण हेर्न यहीँ आउनुपर्छ। दोस्रो, प्रचण्डले चितवनलाई नयाँ नेपालको नमुना शहर बनाउन खोज्नुभएको कुरा त्यसबेला देखियो, जुन बेला उहाँले यस क्षेत्रबाट जितेपछि लगातार विकास निर्माणको बजेट पार्नुभयो र आफ्नै निगरानीमा काम अगाडि बढाउनुभयो।

तेस्रो, मलाई भूमि आयोगको अध्यक्ष बनाएपछि हामीले भूमीहीनहरुलाई लालपुर्जा वितरणको काम अघि बढाएका छौँ। भरतपुर महानगरकै केही स्थानीयलाई त्यसरी लालपुर्जा वितरण गरियो। वडा नम्बर २ मा वितरण सकेका छौँ, अन्य स्थानमा पनि वितरण तयारी छ। यहाँका हजारौँ भूमिहीनलाई लालपुर्जा वितरण गर्न सकेमा उनीहरुमाथि न्याय हुन्छ।

भरतपुर जित्न माओवादीले अघि सारेका रणनीति के छन् ? भन्ने प्रश्नमा तिमिल्सिना अगाडी भन्छन्, चितवनको विकासमा रेनुले कायापलट गर्नुभएको छ। चक्रपथ विस्तार, राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन, सडक निर्माण, भौतिक पूर्वाधारमा गरिएको काम, रंगशाला निर्माण लगायतका काम भएका छन्। यसलाई हामीले भन्नै पर्दैन जनताले देखेका छन्।

अर्को भूमिहीनलाई लालपुर्जा वितरणको काम भएका छन्। यसले माओवादी नै यहाँ सबैभन्दा राम्रो काम गर्ने भनेर देखाइसकेको छ। अर्को कुरा, यहाँको विकास निर्माण देखेर नेकपा एमालेकै साथीहरुले समेत चितवनमा रेनुभन्दा बलियो कोही नरहेको बताउनुभएको छ। उहाँहरुले भनेको कुरा– ‘रेनुभन्दा हामी पछि छौँ।’ चुनाव भएकोले केही रणनीतिक योजना अघि सारेका छौँ, मुख्य कुरा जनतासँग पुग्ने नै हो।

तिमिल्सिनाले गठबन्धन भएकोले कांग्रेसको ५० प्रतिशत मत वा त्यो भन्दा बढी मत रेनु दाहाललाई जाने दाबी गरेका छन् । अहिले भरतपुरमा माओवादीको जनमत निकै राम्रो रहेको र राप्रपाको सिंगो कमिटी नै माओवादीमा मिसिएपछि ३५ हजार मत रहेको बताउदै उनले महानगरपालिकाको मेयरमा चुनाव जितेपछि रेनु दाहालले व्यक्तिगत रुपमा १० हजार मत बढाएको दाबी गरे । उनले एमाले र बागी मिल्दा पनि रेनुले सहज जित निकाल्ने ठोकुवा नै गरे ।