मेयर उम्मेदवारले सुन चोरेको भिडियो भाइरल भएपछि एमाले एक्सनमा, नयाँ पात्रलाई मेयरको उम्मेदवार बनाएर पठायो मैदानमा !

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा नयाँ पात्रको ईन्ट्री भएको छ । नेकपा एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको हो । शनिबार एमाले सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंग्याएको थियो ।

तर, उपमेयर मञ्जुदेवीले आफू उपमेयरमा नउठ्ने बताएकी थिइन् भने मेयरका उम्मेदवार पौडेलले पोखरामा सुन सिक्री चोरेको भन्दै भिडियो भाइरल भएपछि एमालेले फेरि उम्मेदवारबारे छलफल थालेको थियो ।

एमालेले पौडेलको ठाउँमा पूर्व मेयर तथा प्रदेशसभा सदस्य कृष्ण थापाको नाम टुंगो लगाएको हो । यसअघि सांसदले मेयर लड्न नपाउने गरी केन्द्रले निर्णय गरेको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका थिए । तर, संगठन विभाग प्रमुख खगराज अधिकारी समूहले थापालाई मेयर हुनबाट रोक्नकै लागि यस्तो गरेको आरोप लगाएको थियो । कास्कीमा पृथ्वीसुब्बा र खगराजको प्रतिस्ठाको लडाइँले पनि यहाँको एमाले राजनीतिलाई ध्रुवीकरण गरेको छ ।

२०५४ सालमा पनि पोखराको मेयर भएका थापालाई पोखरामा एमालेको बलियो उम्मेदवारको रुपमा हेरिएको थियो । तर, २ नेताबीचको टकरावका कारण पौडेललाई टिकट दिइएको भन्दै आलोचना भएको थियो । आइतबार मेयरका उम्मेदवार पौडेलले सुनको सिक्री चोरेको भन्दै भाइरल बनेपछि पोखराका सन्दर्भमा एमालेलाई झड्कै लागेको थियो ।

मेयरको नाम सच्याउँदै आफूलाई मेयरमा एमालेले टुंगो लगाएको थापाले जानकारी दिए । ‘अन्तत मैले नै पोखरामा फेरि एमालेको नेतृत्व गर्ने गरी पार्टीले निर्णय गरेको छ । १२ बजे मनोनयनमा जाने कार्यक्रम छ । ढिलै भए पनि पार्टीले निर्णय सच्यायो, न्याय दियो,’ थापाले भने, ‘उपमेयरमा भने मञ्जुदेवीकै नाम पक्का भएको छ ।’

एमाले यसअघि नाम टुंग्याएका दीपक पौडेलले भने आफ्नो चरित्र हत्या हुने गरी प्रचार गरिएको र आफ्नो राजनीतिक जीवनकै अवमूल्यन गरिएको बताएका छन् । कार्यवाहक मेयर भएरसमेत काम गरेकी मञ्जुदेवी पनि आफूभन्दा जुनियरलाई मेयर बनाएर आफूलाई उपमेयरको टिकट दिँदा खुसी थिइनन् । आकांक्षा नै नगरेको पदमा आफूलाई टिकट दिइएको भन्दै मञ्जुदेवीले आपत्ति जनाएकी थिइन् ।

अब भने २०५४ सालमै पोखराका मेयर बनिसकेका थापालाई टिक दिइएपछि मञ्जुदेवीले पनि चुनाव लड्ने मेयरका उम्मेदवार थापाले जानकारी दिए । ‘एक त उहाँलाई सल्लाह नै नगरी उपमेयरको टिकट दिइएको थियो भने अर्को प्रोटोकल पनि नमिलेकोमा उहाँको चित्त दुखाइ होला, मेरो सन्दर्भमा उहाँको आपत्ति हुँदैन,’ मेयरका आकांक्षी थापाले भने । यसबारे प्रतिक्रिया लिन खोज्दा उपमेयर मञ्जुदेवी भने सम्पर्कमा आइनन् ।

सत्ता गठबन्धनको तर्फबाट पोखरा एकीकृत समाजवादीको भागमा परेको छ । गठबन्धनबाट एकीकृत समाजवादीका धनराज गुरुङ मेयरका उम्मेदवार छन् ।तर, पोखरामा जनता समाजवादीले आफूहरूले गठबन्धन छोडेको र आफूहरुले मेयरको उम्मेदवार उठाउने तयारी गरिरहेको गण्डकी उपाध्यक्ष किरण थापाले बताएका छन् ।

कास्कीमा पोखराको मेयरबाहेकमा मित्रवत प्रतिस्पर्धा गर्ने नेपाली कांग्रेसले आइतबार निर्णय सुनाएको थियो । तर कांग्रेससहित गठबन्धनको बैठकले अन्तिम टुंगो लगाउने गरी छलफल गरिरहेको छ ।