मैले काँधमा बोकेर जिताएका काठमाडौंका मेयरलाई ‘सयमा शून्य’ दिन्छुः केशव स्थापित

काठमाडौँ — नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो ।

केही समय अघि महानगरपालिका पूर्वमेयर समेत रहेका केशव स्थापितले मेयर विद्यासुन्दर शाक्य पूर्ण रुपमा असफल भएको बताएका थिए । सामाजिक सञ्जालमार्फत शाक्यले विद्यासुन्दरलाई आफूले काँधमा बोकेर जिताए पनि अपेक्षाअनुरुप काम गर्न नसकेको उल्लेख गरेका थिए ।

वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका स्थापितले लेखेका थिए, ‘विद्यासुन्दर शाक्यलाई मैले काँधमा बोकेर जिताएको हो । १०१ योजना मैले ल्याएको हो । मैले दिएको १०१ काम गरे भने मेयर भए । मेयर असफल भए भने निर्मम भएर भन्ने हो ।’

स्थापितले मेयर शाक्यले गरेका कामको कसरी मूल्यांकन भएको छ भन्दै प्रश्न सोध्दै लेखेका थिए, ‘तपाईंको मूल्यांकनमा कति अंक दिनुहुन्छ मेयरलाई ? म १०० मा ०० दिन्छु ।’

विद्यासुन्दर शाक्यले चुनावी घोषणापत्रमा उल्लेख गरेका थुप्रै योजना उनी मेयरको कार्यकाल पूरा हुनै लाग्दा पनि सुरु भएका छैनन् । कतिपय सुरु भएका योजनासमेत अलपत्र अवस्थामा रहेका छन् ।

शाक्यले चुनावअघि ‘सय दिनमा एक सय एक’ काम गर्ने प्रतिबद्धता व्यक्त, गरेका थिए तर उनका अधिकांश प्रतिबद्धता कागजमै सीमित भएका छन् । यसपटक मेयरको टिकट पाएका स्थापितको त्यतिखेरको स्टाटस अहिले नेताकार्यकर्ताहरुले व्यापक सेयर गरेर भाइरल बनाइरहेका छन् ।