मेयरका लागि आमा छोरा अलगअलग पार्टीबाट उम्मेदवार : छोरा भन्छन्, ‘आमा–छोरा कसरी लड्ने होला मम्मी ?’

सुर्खेत :

नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा प्रमुखका लागि सात जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसको वीरेन्द्रनगर नगर कार्य समितिले शुक्रबार चार जनाको नाम सिफारिस गरेको थियो ।

नगर कार्य समिति सिफारिस गरेको तीन जनाको नाममा कांग्रेस संस्थापन पक्ष इतरले असन्तुष्टि जनाएपछि थप तीन जनाको नाम सिफारिस गरेर जिल्ला कार्य समितिमा पठाएको हो ।

नगर कार्यसमितिले उपेन्द्र थापा, चाँदनी ढकाल र हरि विष्टको नाम सिफारिस गरेको थियो । नगर समितिले पठाएका नामका बारेमा कार्यसमिति मै असन्तुष्टि बढेपछि क्षेत्रीय कार्य समितिले चार जनाको नाम थप गरेको हो । गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्रीको नाम थप गरेर सात जनाको नाम जिल्ला कार्य समितिमा पठाएको छ ।

यसै क्रममा एक हुन् वीरेन्द्रनगरका अनिल ढकाल । युवाहरूबीच निकै लोकप्रिय उनी सामाजिक कार्यमा अग्रसर युवा हुन । उनले दुई महिना अघि नै स्वतन्त्र उम्मेदवारी उठ्ने घोषणा गरिसकेका छन् । यसका लागि उनले आवश्यक तयारी पनि थालेका छन् ।

तर ढकालकी आमा नेपाली काँग्रेसबाट मेयरका लागि सिफारिस भएकी छन् । शुक्रबार काँग्रेस वीरेन्द्रनगर कमिटीले मेयरका लागि ७ जनाको नाम सिफारिस गरेको छ । जसमा एक मात्र महिलाका रूपमा चाँदनी ढकाललाई सिफारिस गरिएको छ । ढकाल नेपाली काँग्रेसभित्र विगतदेखिनै सक्रिय रूपमा लागेकी नेतृ हुन् ।

नेतृ ढकाल मेयरका लागि सिफारिस भएसँगै स्वतन्त्र उम्मेदवार छोरा अनिलले आमाको पोस्ट शेयर गर्दै लेखेका छन्, ‘मेरी मम्मी (आमा)को उच्च मूल्याङ्कन गर्दै राजधानी वीरेन्द्रनगर नगरको मेयरका लागि सिफारिस गर्नुभएकोमा नेपाली काँग्रेस नगर कमिटी प्रति हार्दिक आभार व्यक्त गर्दछु । तर पार्टीले हजुरलाई टिकट दियो भने आमा–छोरा कसरी लड्ने होला मम्मी ?’

सामाजिक संजालमा उनले स्टाटस पोष्ट गरेपछि उनको स्टाटसमा महेन्द्र कुमार थापाले कमेन्ट गर्दै लेखेका छन्, ‘दिनभरि मागेको भोट बेलुकि आमाको पोल्टो मा राखि दिए पनि आमा त्यस्ति नारी हुन ऊनले बाबु तिमि नै राख भन्नु हुनेछ।’

ढकाल यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिए । उनी भन्छन्– नगर प्रमुख पदमा यसपालिको स्थानिय तह चुनाव लड्दै छु। जिताउनु भयो भने भित्र बसेर काम गर्ने छु, हारे भने पनि म निष्क्रिय हुने छैन, नगरपालिका बाहिर बसेर सेवा दिने छु, यो मेरो प्रतिबद्दता हो।

मैले बुझेको राजनिती हिम्मत हो, त्याग हो, सेवा हो, गफ हैन काम हो। मैले त्याग गर्ने हिम्मत गरिसके, स्थानिय तह स्वतन्त्र नै हुनु पर्दछ भनी पार्टी त्याग गर्ने हिम्मत गरे। खर्चिलो जीवन शैली त्यागेर साधारण जिवनयापन रोजेको धेरै भयो।

सुर्खेत हस्पिटल भएर, सामुदायिक प्रहरी भएर, मोटे ग्याङ नेपाल भएर, विवेकशील साझा युवा भएर होस् कि कर्णाली स्वयंसेवक भएर होस् २०७१ को बाढी पछि निरन्तर यही समाजको सेवामा लागी परेको छु।