चितवन कांग्रेस सभापतिलाई बालुवाटार बोलाएर देउवाले हप्काउदै भने – भरतपुर माओवादीलाई छाड्नुपर्ने भयो

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका चितवन जिल्ला सभापति राजेश्वर खनाललाई निर्णय सच्याउन निर्देशन दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर भरतपुर महानगरपालिका माओवादीलाई छोड्नुपर्ने अवस्था आएको भन्दै निर्णय सच्याउन निर्देशन दिएका हुन् ।

‘काठमाडौं, ललितपुर र विराटनगर हामीले लिनुपर्ने भयो, भरतपुर माओवादीलाई दिनपर्ने भयो, तपाईंले जिल्लाको माहोल सम्हाल्नुपर्‍यो’ देउवाले खनालसँग भनेका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर नछाड्ने भए काठमाडौं वा विराटनगर जहाँ भए पनि दिन आग्रह गरेको देउवाले बताएका थिए। ‘अन्यत्रभन्दा भरतपुर नै सजिलो हुन्छ भन्ने माओवादीको भनाइ रह्यो,’ उनले भने, ‘चितवनमा तपाईंहरूले सहयोग गरिदिनुपर्छ।’

जवाफमा जिल्ला सभापति खनालले जिल्लामा कार्यकर्ताहरु भरतपुर महानगरपालिकाको मेयर छाड्न नहुने पक्षमा रहेकाले आफूले सम्हाल्न नसक्ने बताएका थिए ।

चितवन कांग्रेसले यसपालि भरतपुर महानगरमा पार्टीबाटै उम्मेदवार उठाउनुपर्ने बताउँदै आएको थियो। शीर्ष नेताहरूलाई भेटेर पनि चितवन कांग्रेसका नेताहरूले भरतपुर महानगर माओवादीलाई नछाड्न भनेका थिए।