वृद्धभत्ता रोक्ने तयारी, केपी ओलीको ठूलो खुलासा !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा हराएर देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र असफल बनाउनुपर्ने जिम्मेवारी जनतामा आएको बताएका छन् ।

लोकतन्त्र र विकास निर्माणको कामलाई अगाडि बढाउन एमालेले जित्नुपर्ने उनको भनाइ छ । विहीबार नेकपा एमाले बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी चुनावमा एमालेले जितेमात्रै देशको लोकतन्त्र र विकास निर्माणको काम द्रुत गतिमा अगाडि बढ्ने दाबी गरे ।

एमाले सरकारबाट हटेको ९ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको उल्लेख गर्दै लगानी गर्ने पुँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने ओलीको भनाइ थियो ।

उनले भने, देशलाई झन् गरिब हुनबाट बचाउन र यी सबै समस्याबाट पार पाउन आगामी चुनावमा एमालेलाई जिताउनुपर्छ । उनले सरकारले अस्पताल र विद्यालयका आयोजनाहरूसमेत बन्द गर्न थालेकाले वृद्ध भत्तासमेत बाँड्न रोक्ने आशंका गरे ।

अध्यक्ष ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक–एक लाख रकम दिने घोषणा गरे । समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको बताउँदै ओलीले गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने बताए । अध्यक्ष ओलीले नेकपा (समाजवादी) पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन् ।

‘नेकपा (एस) भन्ने पार्टी बाँकेबाट साफ भएको छ । अब एसका कार्यकर्ता लाइट बालेर खोज्दा पनि पाइँदैनन्, उनले भने, बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभर जनलहर चलेको छ । नेपालगञ्जमा सम्बोधनपछि अध्यक्ष ओली आजै बर्दिया गएका छन् ।