एमालेको सांसदको नौंटकी सुरु : घरदैलो कार्यक्रममा पहिले साइकल अहिले अटोरेक्सामा सवार

काठमाडौ । विराटनगर महानगरपालिका मेयरको सम्भावित उम्मेदवारको रुपमा चर्चा गरिएका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित पार्टीको प्रचारका लागि घरदैलो अभियानमा सक्रिय बनेका छन् ।

बुधवार पनि पण्डित विराटनगर महानगरपालिकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी भएका थिए । पूर्वमन्त्री पण्डितले आफैं अटो रिक्सा चलाएको तस्वीर फेसबुकमा राखेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विराटनगरमा एमालेले ‘हेवी वेट’ नेतालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

यसअघि २०७४ सालको चुनावमा कांग्रेसले जितेको विराटनगर महानगरको नतिजा उल्टाउने एमालेको दाउ छ । कांग्रेसको तर्फबाट प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाको पनि मेयरमा उठ्ने चर्चा छ ।

एमालेका नेताहरूले मेयरको चर्चा गरे पनि लालबाबुले यसबारे मुख खोलेका छैनन् । नेकपा एमालेले केन्द्रीय नेताहरूलाई स्थानीय तहको चुनावी अभियानमा खटाएको छ ।

स्थानीय तहमा जिताएको आधारमा प्रतिनिधि सभामा टिकट वितरण गर्ने एमाले अध्यक्ष केपी ओलीले संसदीय दलको बैठकमा बताएका थिए ।