स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच अनौपचारिक गठबन्धन !

काठमाडौं । कांग्रेससँग सत्ता गठबन्धन गरिरहेको नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तहको निर्वाचनको विषयलाई लिएर निरन्तर छलफलमा रहेका छन् । माओवादी केन्द्रका दोस्रो तहका नेताहरु प्रमुख प्रतिपक्षी दल एमालेका उपाध्यक्ष तथा सचिव तहका नेताहरुबीच नेताहरु निरन्तर संवाद र छलफलमा रहेका हुन् ।

खासगरी एमाले र माओवादी मिल्दा चुनावमा राम्रो परिणाम हासिल गर्न सकिने स्थानीय तहको पहिचान गर्ने र स्थानीय कार्यकर्ताहरुको आग्रहलाई ध्यानमा राखेर अनौपचारिक गठबन्धनका लागि पनि केन्द्रका शीर्ष नेताहरुबीच छलफलको शुरुवात भएको हो । चीनमा उपचार गरेर नेपाल फर्केपछि नेकपा माओवादीका पूर्व स्थायी समिति सदस्य वर्षमान पुनले एक पटक एमालेका शीर्ष नेताहरुसँग भेटघाट गरेका थिए । एमालेका नेताहरुले पनि जिल्ला तहका माओवादी नेताहरुसँगको सम्पर्कलाई बढाउदै केन्द्रमापनि दोस्रो तहका नेताहरुसँग छलफल अघि बढाइहेको छ ।

‘एमालेका नेताहरुसँग हाम्रो निरन्तर संवाद चलिरहेको छ, हाम्रो संवादमा एमालेका नेताहरुले सकारात्मक जवाफ दिएका छन् । मूलतः कम्युनिष्ट पार्टीको जनमतलाई कसरी जोगाउने भन्नेबारेमा निरन्तर संवाद मात्रै भएको छैन बहस छलफल सकारात्मक ढंगले अघि बढेको छ, जिल्लाका केही नेताहरुले स्थानीय तहमा एमालेसँग मिल्दा फाइदा हुने रिपोटिङ गरेका छन्, ती जिल्लाको रिपोटिङलाई ध्यानमा राखेर पनि हामीले छलफल अघि बढाएका छौ’, माओवादीका एक उच्च नेताले भने ।

उनका अनुसार यतिबेला जिल्ला तहका नेताहरुले स्थानीय तहमै कम्युनिष्ट पार्टीको मत जोगाउनेबारे छलफल गरिरहेको स्रोतको दावी छ । ‘ कम्युनिष्ट पार्टीको जनमत जोगाउने विषयमा माओवादीका केन्द्रीय नेताहरुको तहमा यसबारे छलफल चलिरहेको छ’, उच्च स्रोतले भन्यो । एमालेले पनि यो विषयलाई सकारात्मक रुपमा लिएको पनि ती नेताको भनाई छ । ‘स्थानीय तहमा एमालेले प्रमुख र उपप्रमुखको विषयमा छलफल गर्न थालिसकेको र यसविषयमा माओवादीका स्थानीय नेताहरुसँग पनि छलफल गरिरहेको कारण स्थानीय तहका धेरै स्थानमा अघोषित रुपमा गठबन्धन हुने संभावना रहेको छ’, स्रोतले भन्यो ।

सत्ता गठबन्धन दलका वीचमा तालमेल गरेर जाने र गठबन्धन भन्दा वाहिरका दलसँग तालमेल नगर्ने र गर्ने पर्ने भए पहिले गठबन्धनमा समझदारी बनाएर मात्र गर्नुपर्ने निर्णय छ । तर कतिपय जिल्ला तहहरुमा कांग्रेसका नेताहरुले अहंम देखाउन थालेको र माओवादी केन्द्रको हैसियतलाई नजरअन्दाज गर्न थालेपछि विकल्पका रुपमा माओवादी केन्द्रका नेताहरु सामानान्तर रुपमा एमालेसँगको पनि सम्वादमा रहेका हुन् । कांग्रेसको शेखर कोइराला पक्षका नेताहरुले माओवादमिाथी एकोहोरो गरिरहेको आक्रमण र गठबन्धन विरोधी अभिब्यक्तिले पनि माओवादी कांग्रेससँग मात्रै विस्वस्त हुन सकिरहेको छैन ।

सोहीकारणपनि स्थानीय तहमा माओवादीका नेताहरुले एमालेसँगै मिलेर जान खोजिरहेका छन् । तर एमालेले गाउँपालिका वा नगरपालिकामा माओवादीलाई वडा अध्यक्ष दिएर अध्यक्षचाहि आफैले लिने र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग लिने रणनीति अख्तियार गरिरहेको छ । तर माओवादीले पनि एमालेसँग ठााउ विशेषका आधारमा सम्मानजक एकता हुने बाताबरण निर्माण भए फेरि कम्युनिष्ट पार्टी वीचको धुव्रिकरण र तालमेलको नयाँ कोर्स अगाडी बढन सक्ने बताउन थालेको छ । ‘तयसपछि विकसित घटनाक्रमले सत्तागठबन्धन दलका वीचमा झनै मजवुत एकता देखिएको र चुनावमा गठबन्धन हुने तिरै गएपछि एमालेपनि लचक देखिएको छ । सकभर कम्युनिष्ट तालमेलको प्रयास गरेर कांग्रेसलाई कमजोर बनाउने गरी नै जान एमाले नेताहरु पनि अहिले तयार देखिएका छन् । अहिले एमालेका नेताहरुले माओवादीसँग मिलेर जानेसम्मको प्रस्तावमा छलफल मात्रै गरेका छैनन, अनौपचारिक रुपमा गठबन्धन बनाएर जान सकिने स्थानमा गठबन्धन बनाएर जान उनीहरु तयार भएको स्रोतको दावी छ ।