के दुर्गा प्रसाईंको ‘मानसिक सन्तुलन’ बिग्रीएको हो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई जवाफ फर्काएका छन् ।

अन्य पार्टीहरू र पत्रकारलाई तथानाम भनेपछि प्रसाईंको आलोचना भैरहेको छ । दीपशिखाले प्रसाईको मानसिक सन्तुलन ठीक नभएको टिप्पणी गरेका छन् ।

बिहीबार भक्तपुरको सूर्यविनायकमा तरकारी बजार उद्घाटन समारोहमा प्रसाईंले माओवादी केन्द्र र एकीकृत समाजवादीले आगामी चुनावमा एक सिट जिते आफ्नो नाममा भएको सम्पत्ति सबै जिम्मा लगाइ वृन्दावन जाने अभिव्यक्ति दिएका थिए ।

प्रसाईंको उक्त अभिव्यक्तिप्रति सापकोटाले तीव्र असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले जिल्ला समितिमा नपत्याएको ब्यक्तिलाई एमालेको केन्द्रीय सदस्य हुन पाउँदा मानसिक सन्तुलन ठीक नभएको टिप्पणी गरेका हुन् ।

‘नेकपा (माओवादी केन्द्र)ले जिल्ला समितिमा नपत्याएको मान्छेलाई एमालेले केन्द्रीय सदस्य बनाएपछि उनको मानसिक सन्तुलन कसरी ठीक होस् त ! प्रसाईं जी, हामीले मुख खोल्नपर्ने हो ? सन्तुलन नगुमाउ, थुतुनो जथाभाबी बोल्नलाई मात्रै होइन,’ सापकोटाले भने, ‘अँ, हामीले २०० उपस्थित नभएको कार्यक्रममा २ हजार प्रवेश गरेको हास्य श्रृंखला हे-यौं ! हाँसो लजाएर लाज मर्नु भा’को छ !’

लामो समय माओवादी केन्द्रनिकट रहेर काम गरेका प्रसाईं एमालेको १० औं महाधिवेशनताका एमाले प्रवेश गरेका थिए । मंसिर २५–२६ मा बसेको एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकमा ओलीको तजबिजमा प्रसाईंलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो ।