प्रहरी जवान उर्मिला श्रेष्ठले आफ्नो कर्तव्य पुरा गर्दा ज्यान गुमाइन (भिडियो सहित)

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक मनोज पौडेललाई विद्यालयमै प्रहरीले सुरक्षा दिएर राखेको थियो। तर स्थानीय प्रहरीको टोलीले मात्रै उनलाई विद्यालयबाट निकालेर प्रहरी कार्यालय लेटाङ लैजान सकेन।

प्रदेश नं १ गणबाट थप मद्दतका लागि टोली मगाएर शिक्षक पौडेललाई लैजाने तयारी भयो। प्रहरी जवान उर्मिला श्रेष्ठ पनि गणबाट लेटाङ जाने टोलीमा परिन्। उनी अढाई वर्ष पहिले मात्रै प्रहरी जवानमा भर्ती भएकी थिइन्। खोटाङको फाक्टाङकी उर्मिलाको पहिलो पोस्टिङ त्यही गणमा भएको थियो।

एक वर्षअघि मात्रै उदयपुरमा उनको विवाह भएको थियो। उनका श्रीमान् नवीन श्रेष्ठ पनि प्रहरी जवान नै हुन्। उनी जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत छन्।

उर्मिलाका दाजु–भाउजू पनि प्रहरी नै हुन्। दाजु भुवन श्रेष्ठ प्रहरी सहायक निरीक्षक (असई) हुन्। उनी पनि मोरङकै बख्रिन चौकीमा कार्यरत छन्। भाउजू मीना जवान हुन्। उनी जिल्ला कारागार (मोरङ) मा कार्यरत छिन्।

प्रहरी जवानमा उत्तीर्ण भएपछि उर्मिलाको पहिलो पोस्टिङ नै मोरङको रानीस्थित १ नं गणमा भएको थियो। उनी त्यहाँ दुई वर्षदेखि कार्यरत थिइन्।

तर आइतबार छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकलाई विद्यालयबाट सुरक्षितसाथ निकाल्न खोज्दा आफू मारिइन्।

शिक्षकलाई विद्यालयबाट बाहिर निकाल्न खोज्दा झडप भयो। स्थानीयको भीडले आक्रमण गर्‍यो। अरू भागेर जोगिए। तर उर्मिलाको घाँटीमा पटकपटक धारिलो हतियार प्रहार भयो।

उनी त्यहीँ ढलिन्। अरू १७ जना प्रहरी पनि स्थानीयको ढुंगामुढाबाट घाइते भए। तर उनीहरूको अवस्था सामान्य नै छ। सबै घाइतेलाई कोसी अस्पताल लगियो।

उर्मिलालाई भने कोसी अस्पताल (विराटनगर) ले राति १०:५० बजे मृत घोषणा गर्‍यो।

‘अहिले हामी अस्पतालमा जम्मा हुँदै छौं। उर्मिलाका बुबा पनि खोटाङबाट आइपुग्नुभयो’, उर्मिलाका मामा केशर श्रेष्ठले नेपालखबरसँग भने। मामा केशर पनि प्रहरी हवल्दार हुन्। उनी जिल्ला प्रशासन कार्यालय उदयपुरमा कार्यरत छन्।

दाइको पदचाप पछ्याएकी उर्मिलाको जीवनसँगै राष्ट्रसेवकको यात्रा छोटै समयमा टुंगियो। अरूलाई सुरक्षा दिन लागिपरेका श्रेष्ठ परिवार आफैं शोकमा डुब्यो।

के थियो घटना ?
लेटाङ ५ खेरुवास्थित शिक्षा विकास माविमा कक्षा ७ मा पढ्ने १३ वर्षीया बालिकाले होलीको दिन शुक्रबार भएको दुर्व्यवहारबारे अभिभावकलाई जानकारी गराइन्। स्थानीय र विद्यार्थीसहितको टोलीले आइतबार विद्यालय खुल्नासाथ ती शिक्षकलाई निशाना बनाए।

आक्रोश बढ्दै गएपछि स्थानीय प्रहरीको टोली पुग्यो। तर स्थानीय र विद्यार्थीको भीडले छाडेन। प्रहरीले आरोपित शिक्षकलाई विद्यालयबाट निकालेर जिप्रका लैजान सकेन। दिनभर शिक्षक पौडेललाई विद्यालयभित्रै थुनेर राखियो। तर आक्रोशित भीडले नछाडेपछि प्रहरीले थप मद्दत मगाएको थियो।

आक्रोशित स्थानीय र विद्यार्थीले शिक्षक पौडेलको मोटरसाइकल जलाए। प्रहरीका सवारीसाधान पनि तोडफोड गरे। साँझ थप मद्दत आएपछि शिक्षकलाई एम्बुलेन्समा लैजान खोज्दा त्यहाँ पनि तोडफोड गरे। झडप भयो। आरोपित शिक्षकलाई प्रहरीले जोगाएको भन्दै प्रहरीलाई आक्रमण गरिँदा ठूलो क्षति भएको प्रदेश नं १ का प्रहरी प्रवक्ता एसपी नवीन राईले बताए।

मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित १७ प्रहरी घाइते भए। आक्रमणपछि प्रहरीले अश्रुग्याँस प्रहार गर्‍यो। दुई जना आक्रमणकारी घाइते भए। भीड र आक्रमण झेल्दै प्रहरीले आरोपित शिक्षकलाई इलाका प्रहरी कार्यालय लेटाङ पुर्‍यायो। त्यसपछि मात्रै राति ९ बजेतिर स्थिति सामान्य भएको प्रहरीले जनाएको छ।

अहिले प्रशासनले त्यस क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ। प्रहरीलाई आक्रमण गर्नेको पनि खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ। सोमबार बिहान ६ जना पक्राउ परिसकेका छन्। घटनामा संलग्न अरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।