पल शाहको वयान : पीडित नाबालिका हुन् भन्ने थाहा थियो, त्यसैले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला भने

काठमाडौं ८ चैत । नाबालिका माथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहले आफुलाई पीडित नाबालिका हुन् भन्ने थाहा भएको बताएका छन् । आजबाट सुरु भएको बयानका क्रममा शाहले पीडित बालिका १८ वर्षभन्दा कम उमेरको भएको थाहा भएको वयान दिएका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमा शाहले भनेका छन्, ‘ब्वाइफ्रेण्ड र गर्लफ्रेन्ड बीच हुनु नर्मल हो’ । शाहले घटना भएको दिन आफू पीडित सुतेको कोठामा गएर ढोका धकेलेर भित्र पसेको स्विकार गरेकोे उक्त अभियोग पत्रमा भनिएको छ ।

शाहले थप भनेका छन्, ‘मलाई गाह्रो भयो, महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नुपर्छ भन्ने म्यासेजहरु मलाई प्रेसित गरेकी थिइन्, छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ ।’

जिल्ला सरकारी वकिल कार्यालय तनहुँमा १२ देखि १४ वर्ष सजाय माग दाबी गर्दै शाहविरुद्ध मुद्धा दर्ता भएको छ ।