अवैध सम्बन्धले निम्त्याएको ‘न्येलु’ प्रथा

(- नगेन्द्र उपाध्याय )  हुम्लाको हिमालपारिको गाउँ लिमीकी पेमा तामाङ ४५ वर्षकी भइन्। उनीबाट छोरीको जन्म भयो। विवाहित युवकसँगको प्रेम सम्बन्धका कारण छोरीलाई जन्म दिएकी पेमा अहिले बुवाले बनाएर दिएको घरमा बस्छिन्। बुवाले एकसरोे सम्पत्ति र जमिन दिएका छन्। लिमी क्षेत्रमा अवैद्य सम्बन्धबाट महिलाले बच्चा जन्माएमा बुवाले बनाइदिएको घरमा बस्ने प्रथा छ। यसलाई उनीहरू ‘न्येलु’ प्रथा भन्छन्।

हिमालपारिको लिमी क्षेत्रमा तिल, हल्जी र जाङ गाउँ पर्छन्। यो नाम्खा गाउँपालिका–६ मा पर्छ। साविकको लिमी गाविस अहिले नाम्खा गाउँपालिका–६ भएको छ। यो वडामा अहिले पनि न्येलु प्रथा कायमै छ। पछिल्लो समय यो प्रथा कम हुँदै गए पनि १६ जना महिला न्येलु प्रथाले बाँधिएका छन्। ‘पछिल्लो पुस्ताका युवती भने यो प्रथाबाट टाढा रहन चाहन्छन्,’ स्थानीय डिचिन लामाले भनिन्, ‘पहिलेको जमानामा त ठिकै थियो होला, अहिलेको जमानामा यो प्रथा सुहाउँदैन।’

लिमीको आफ्नै संस्कृति छ। आफ्नै शासन व्यवस्था छ। महत्वपूर्ण निर्णय लिन वर्षमा एक पटक गाउँलेहरूको भेला हुन्छ। त्यही भेलाले गर्ने निर्णय कानुन बन्छ। नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा)का अनुसार अवैध सम्बन्धबाट बच्चा जन्मिए त्यस्ता आमाहरूलाई राख्न र जन्मिएको बच्चाको लालनपालन र पढाइलेखाइमा सहजताका लागि बुवाले घर बनाएर दिने तथा आवश्यक जग्गाको प्रबन्ध गरिदिने प्रथालाई न्येलु प्रथा भनिन्छ।

‘अवैध सम्बन्ध भयो, बच्चा जन्मियो भने त्यस्ता आमा र बच्चा राख्नका लागि बुवाले बनाइदिने घरमा बस्ने प्रथालाई न्येलु प्रथा भनिन्छ,’ उनले भने, ‘बुवा त थाहा हुन्छ तर उसको घरमा पहिले नै पत्नी भएको खण्डमा जान नमिल्ने भएकाले यो प्रथा मान्ने चलन छ।’ अवैध सम्बन्धबाट जन्मिए पनि नागरिकता भने बाबुकै नामबाट प्राप्त हुन्छ।

१२०१.२९ वर्गकिलोमिटर क्षेत्रफल भएको लिमी क्षेत्रमा जनसंख्या ९०४ मात्रै छ। तीमध्ये १६ जना महिला यो प्रथा मानेर बसेका छन्। यो प्रथाअनुसार छोरीले विवाह नगरी कसैको बच्चा जन्माएमा बाबुले एकसरो व्यवस्था गरेर घरमै राख्नुपर्छ। स्थानीय झुवा तामाङले बुवाले बनाएर दिएको घरमा आफू बस्दै आएको बताइन्। यसरी बस्ने महिलाले फेरि विवाह गर्न पाउँदैनन्।

पछिल्लो समय यो प्रथा कम हुँदै गएको छ। लिमी क्षेत्रबाट अध्ययनका लागि बाहिर गएका युवती गाउँ फर्कदैनन्। अवैध सम्बन्धबाट बच्चा जन्मिए यो प्रथा मान्नुपर्ने भयका कारण पनि अध्ययनका लागि बाहिर गएका छोरीहरू नफर्किने गरेको स्थानीय बताउँछन्।

लिमीमा पहिले बहुपतिप्रथा व्याप्त थियो। सोही कारण महिलाको संख्या धेरै हुन्थ्यो। त्यही कारण पनि अवैध सम्बन्धबाट बच्चा जन्माउनेको संख्या पनि धेरै हुन्थ्यो। अहिले बहुपति प्रथा पनि कम हुँदै गएको छ। पहिला युवतीहरूको

संख्या धेरै भए पनि अहिले युवाहरूको संख्या धेरै छ। (नागरिक नेटवर्क)