केपी ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसक्यो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसकेको दाबी गरेका छन् ।

आइतबार आज स्याङ्जाको पुतलीबजारस्थित पार्टी कार्यालयमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत वडाहरुमा खटाइएको टोलीका संयोजकको भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य समेत रहेका पौडेलले जनताले दिएको म्यान्डेडअनुसार झण्डै दुईतिहाइ प्राप्त सरकारलाई पाँच वर्ष टिकाउन नसक्दा ओलीले नेतृत्व गर्न सक्षम नभएको भन्ने प्रमाणित भएको दाबी गरे ।

राजनीतिमा बारम्बार परीक्षण हुने मौका प्राप्त नहुने जिकिर गर्दै नेता पौडेलले अब जनता माझ गएर एमालेकको मत माग्ने हैसियत नै नभएको टिप्पणीसमेत गरे ।

त्यस अघि आजै नेता पौडेलले तनहुँ तरुणदलद्वारा आयोति एक कार्यक्रममा कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीको मेरुदण्ड मानिएको तरुण दलललाई पनि अझै बलियो बनाउनुपर्नेमा जोड दिनु भएको थियो ।