माओवादी तालमेल गर्न कहीँ जाँदैन, अरू आउनुपर्छ : प्रचण्ड

पोखरा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने दिशातर्फ उन्मुख भएको बताएका छन्। पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले त्यसको संकेत गरेको जिकिर गरे।

‘२०६४ सालको चुनावमा ५ सिट जित्छ माओवादीले भन्थे ठूला दलहरूले। कहिले १० सिटसम्म भन्थे। तर, झण्डै बहुमत दिए, जनताले। प्रत्यक्षतर्फ त बहुमतै हो र अहिले २०७९ मा पनि सबैतिरको स्थिति हेर्दा हामी पहिलो पार्टी हुने सम्भावना बढिसक्यो,’ प्रचण्डले भने।

उनले संविधान र लोकतन्त्र बचाउँदै उत्पीडित जाति, वर्ग र समुदायको अधिकारको पक्षमा उभिएको दल माओवादी भन्ने जनताले बुझेको बताए। सोही कारण मधेस प्रदेशदेखि जताततै माओवादीमा जनताको उभार आएको उनको भनाइ छ।

‘मधेसको ४/५ वटा जिल्ला गएँ। एउटै जिल्लामा हजार १२ सय जना शिक्षक बुद्धिजीवी माओवादीमा प्रवेश गर्नुभएको छ,’ प्रचण्डले भने, ‘हिजो सिन्धुलीमा धेरै मानिस प्रवेश गर्नुभएको छ। साथीहरूले पहिलो पार्टी हुने भन्नुभएको छ, त्यो पनि विश्वासिलो आधारले।’

उनले माओवादीलाई कसैको वैशाखी आवश्यक नभएको र आफ्नै बलमा निर्वाचन लड्ने पनि बताए। ‘अबको चुनाव कसैको वैशाखी टेकेर होइन, आफ्नै बलमा हामी चुनाव लड्ने तयारी गर्दै छौं,’ उनले भने, ‘एक चोटि फेरि माओवादी आउनै पर्छ।’

देशभर माओवादीप्रति उभार देखिएको भन्दै उनले अरू पार्टी आफूहरूसित चुनावी तालमेल गर्न आउनुपर्ने धारणा राखे। ‘अरू सबै पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्छ। हामी जाने होइन। किनभने, यो देशको परिवर्तनको वाहक हामी हो,’ उनले भने।