अमेरिकी सेनाको विमान दुर्घटना

काठमाडौं ।

चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटना भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई थाहा छ र हाल घटनाको मूल्याङ्कन गरिरहेको अमेरिकी मरीन कोर्प्सका प्रवक्ताले बताए।

यसअघि नर्वेली उद्धार केन्द्रले खोजी कार्य जारी रहेको बताएको थियो। अमेरिकी सेनाले नर्वेजियन अधिकारीहरूलाई खोज र उद्धार कार्यमा सहयोग गरिरहेको प्रवक्ताले बताए।

अमेरिकी मरीन कोर्प्सका प्रतिनिधिले ओस्प्रे विमानले एक्सरसाइज कोल्ड रेस्पोन्स २०२२ नामक नाटो सैन्य अभ्यासमा भाग लिइरहेको पनि बताए।

त्यस्तै, युक्रेनमा रुसले गरेको आक्रमणबीच अमेरिकाले रुसविरुद्ध विभिन्न देशबाट समर्थन जुटाउने प्रयास गरिरहेको छ। तर चीनले भने अमेरिकासँग ताइवानको मुद्दाको विषयमा कुरा गर्न थालेको छ।

शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता भएको थियो। यस क्रममा जिनपिङले बाइडेनलाई ताइवान मुद्दामा कुनै पनि त्रुटिले चीन-अमेरिका सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।

समाचार एजेन्सी रोयटर्सले चिनियाँ मिडियालाई उद्धृत गर्दै यो जानकारी दिएको हो। ताइवान आफ्नो एउटा प्रान्त हो, जुन एक दिन फेरि चीनको हिस्सा बन्नेछ भन्ने चीनको विश्वास छ।

चीनले ताइवानलाई बल प्रयोग गरेर फिर्ता ल्याउन सकिने र यो अमेरिकासँगको सम्बन्धको सबैभन्दा संवेदनशील र महत्वपूर्ण मुद्दा भएको बताएको छ।

बाइडेनसँगको कुराकानीमा जिनपिङले भने, ‘अमेरिकाका केही व्यक्तिहरूले ताइवानको स्वतन्त्रता समर्थक शक्तिहरूलाई गलत संकेतहरू पठाइरहेका छन्, यो धेरै खतरनाक छ। यसले धेरै नराम्रो प्रभाव पार्नेछ।’

यसै क्रममा ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा सी जिनपिङसँगको वार्ताका क्रममा बाइडेनले ताइवानका सम्बन्धमा अमेरिकाको नीतिमा कुनै परिवर्तन नभएको उल्लेख छ।