प्रकाश सपुत जी, पीर माथि हाम्रो चिन्ता होइन, प्रश्न –’आत्म स्वाभिमानको हो’

रमेश थापा मगर

कला कलाको लागि या कला जीवनको लागि, यस विषय माथिको बहस निरन्तर चलिरहेकोछ र चलिरहने छ । कला केवल कलाका लागि ठान्नेहरु कलाबाट आनन्द र मनोरञ्जन मात्र चाहन्छन् । स्रष्टाद्वारा सिर्जित कला सस्तो लोकप्रियताका लागि होस् वा क्षणिक मनोरञ्जनका लागि केवल त्यसले मानिसलाई आनन्द प्रदान गरे हुन्छ । ती कला साहित्यले समाजलाई कस्ता सन्देश दिन्छन् ? मानिसमा कस्तो मनोदशा र मनोविज्ञान पैदा गर्छन् ? मानिसको जीवनमा आशा जगाउँछ या निराशा ? यस बारे कला कलाको लागि भन्नेहरुलाई कुनै चासो चिन्ता हुदैन । उनीहरुलाई केवल कला र साहित्यबाट मनोरञ्जन र आनन्द आए हुन्छ । तर कला जीवनका लागि भन्नेहरु कला वा साहित्यबाट आनन्दानुभूति मात्रै होइन त्यसले समाजलाई रुपान्तरण गर्नुका साथै मानिसहरुमा जीवनप्रति आशा र विश्वास जगाओस् भन्ने चाहान्छन् । ती कला साहित्यले मानिसहरुलाई व्यूझाउँछन् , चेतना प्रदान गर्छन्, जागरुक बनाउँछन्, सत्य र वास्तविक धरातलमा उभिएर अन्याय र अत्याचार विरुद्ध संगठित हुन सिकाउँछ र कला सस्तो मनोरञ्जनका लागि नभई जीवनको लागि भन्ने पाठ सिकाउँछ ।

वर्गीय समाजमा कला साहित्य पनि वर्गीय नै हुने गर्दछ । हामी बाँचिरहेको समाज वर्गीय समाज हो ।कार्लमार्क्स भन्छन् –समाजको व्याख्या सबैले गर्छन् , मुख्य कुरा त्यसलाई बदल्नु हो ।कला कलाका लागि भन्ने स्रष्टाहरुले केवल समाजको व्याख्या मात्र गर्छन्, जीवनका आँशु-हाँसो, सुख-दुख, घाम-छाँया, उकाली-ओरालीलाई सुन्दर ढंगले व्यक्त गर्छन् तर त्यस दुख पीडाबाट मुक्तिका उपाय र जीवन बदल्ने सूत्र बताउदैन्, जीवन र जगत्‌प्रति उज्यालो दियो सल्काउदैनन्, आशा र विश्वास जगाउदैनन् । केवल निभेको विश्वास र टुटेको सपना छाडेर जान्छन् ।अन्तमा त्यसको परिणाम निरासा र आत्महत्या हुन्छ ।त्यसैले यस्ता खाले कला साहित्यले समाज र मानिसको जीवनलाई वदल्न सक्दैन केवल व्याख्या मात्र गर्छ र बदलामा जिवनप्रतिको निस्सारता वा निरासा छाडेर जान्छ ।

कला, साहित्य समाजको दर्पण हो । मानिसले भोगेका भोगाइहरुलाई कथा, कविता, गीत, संगीतमा सिर्जना गर्नु साहित्यकारहरुको नवीन सिर्जना हो । प्रकाश सपुतको हाल सार्वजनिक भएको पीर नामक गीति नाटक भिडियो एउटा नवीन सिर्जना हो । यस भिडियोमा प्रस्तुत शब्द, संगीत र गायकी राम्रो छ । यस गीति नाटकको कथावस्तुमा माओवादी जनयुद्बका छापामार जस्ले युद्बका क्रममा वीरतापूर्वक लडाइ लडे,शान्ति प्रकृया पश्चात् यहाँ सम्म आइपुग्दा उनीहरुका जीन्दगीका कयौ मिठा सपनाहरु टुटे, नेतृत्वले देखाएका आशा र विश्वासहरु पूरा हुन सकेनन् । युद्बको समयमा उनीहरुको जति सम्मान र मूल्य थियो शान्ति प्रकृया पश्चात् अवमूल्यन भयो । नेतृत्वबाट कार्यकर्ताको रक्षा हुन सकेन विस्तारै कार्यकर्ताहरु तितर वितर भए । जीविकोपार्जनका लागि जनमुक्ति सेनाका लडाकुहरु विदेश पसे । यताउता भौतारिदै काम र मामको खोजीमा रन्थनिए । यहाँ सम्मको कथा वस्तुमा वास्तविकता र यथार्थसँग मेल खाएको छ । हिजो जनयुद्बको समयमा जीवन मरणको दोसाँधमा उभिएर युद्बको मोर्चा संहालेका छापामारहरु (जनमुक्ति सेना) ले शान्ति प्रकृया पश्चात् दुःख पाएका छन् ।

नेतृत्त्व पक्तिले कार्यकर्ताहरुको राम्ररी व्यवस्थापन गर्न नसक्दा रोजी रोटीका लागि विदेसिएका छन् । उनीहरुले श्रम र पसिना बेचेका छन् । यी घटनाहरु सत्य हुन् र नाटकमा देखिएका यी दृश्यहरु जीवनन्त छन् । तर भिडियोमा प्रस्तुत भएका यस पछिका दृश्यहरु अलिकति अनुचित, अलिकति अप्ठेरो र अलिकति अस्वाभाविक छन् । दृश्यमा यौनकर्मी पनि लडाकु र त्यसलाई भोग्न जाने पनि लडाकुनै देखाइएको छ । प्रश्न यही दृश्य माथिको हो । अभिव्यक्ति स्वतन्त्रता भएको मुलुकमा आफ्नो कुरा भन्न पाइन्छ । देखेका, भोगेका र अनुभव गरेका कुरालाई

साहित्य सिर्जनामा उतार्न पाइन्छ तर स्वतन्त्रता भनेको अनुशासन पनि हो । त्यसलाई विवेक भने पनि हुन्छ । स्रष्टाहरुले त्यसलाई सम्मान गर्नुपर्दछ । लडाकुहरुले बाँच्नका लागि देह व्यापार गरेको, दृश्यमा स्रष्टा प्रकाश सपुतले विवेक पुर्‍याएको देखिएन । हाम्रो विमति र प्रश्न यही दृश्यमाथि हो । जनयुद्बको समयमा फलामे अनुशासनमा बाधिएका योद्बाहरु स्वाभिमान गिराएर यौनकर्ममा लागेका छैनन् । उनीहरुले जतिसुकै दुख पाएपनि बाँच्नका लागि शरीर बेचेका (घृणित यौन कर्ममा लागेका) छैनन् । तसर्थ सर्जकले गणतन्त्र स्थापनाका लागि ज्यानको बाजी थापेर लडेका योद्बाहरुलाई बेश्यावृति गर्न लगाइएको दृश्य अशोभनीय छ, निन्दनीय छ । यसले जनयुद्बका शहिद वेपत्ता, घाइते, अपाङ्ग,लडाकु योद्बाहरुको स्वाभिमानमा चोट लागेको छ । आत्म सम्मानमा ठेस पुगेको  छ ।यसपछि नाटकले दिने सन्देश पनि निरासा वादी र पलायन वादी छ ।तपाई जस्ता नव स्रस्टाहरुले  आफ्ना सिर्जनाहरु मार्फत विकृति र विसंगतिको यथार्थ चित्रण गर्दै युवापुस्तामा आशा, भरोसा र विश्वास जगाउनु पर्ने हो तर नाटकको अन्त्य अत्यन्त निरासा वादी छ ।त्यसले दिने सन्देश भनेको निरासा र पलायन नै हो ।त्यसैले तपाईको पीर नामक गीति भिडियो केवल कला कलाको लागि मात्र भएको छ ।यसले आनन्द र मनोरञ्जन त प्रदान गर्ला तर मानिसको स्वाभिमानपूर्वक बाँच्ने आत्म गौरव निमोठिएको छ र बाँच्नका लागि श्रम र पसिना बगाउनु भन्दा शरीर बेच्नु (देह व्यापार गर्नु) ठीक छ भन्ने सन्देश प्रवाह भएको छ ।

अन्तमा जुन उत्साहका साथ यो भिडियो सार्वजनिक गर्नु भो  यस भिडियो सबैले मन पराइदेलान्, वाहवाही र तारिफ पाइएला, गौरव र आत्मसम्मान पाइएला भन्ने अपेक्षा सहित आत्म गौरव गर्नुभएको छ । तपाई जति स्वाभिमान र गौरवपूर्वक बाँच्न चाहानु हुन्छ, हामीलाई पनि त्यतिकै स्वाभिमानपूर्वक बाँच्ने अधिकार छ । हामी हिजो नेकपा माओवादीद्बारा सञ्चालित जनयुद्बका क्रममा शसस्त्र युद्बमा सहभागी भएका लडाकुहरुलाई युद्ब लडेकामा कुनै पश्चाताप छैन, बरु आत्म गौरव बढेको छ । हाम्रो स्वाभिमानको छाती सगरमाथा जतिकै उच्च भएको छ । हाम्रो त्याग, तपस्या र योगदानले गणतन्त्र स्थापनामा सहयोग पुगेको छ । हिजो आवाज नभएकाहरुलाई आवाज भरिदिएकोमा, चेतनाको विउ छरेर गाउँवस्तीलाई व्युँझाएकोमा, अधिकारका वारेमा वोल्न सिकाएकोमा हामीलाई गर्व लागेको छ । जनमुक्ति सेनाका लडाकुहरुको गर्जन र उत्पीडित जनताहरुको संघर्षले नै निरंकुशतालाई घुडा टेकाएको हो । त्यसैले परिवर्तनका योद्धाहरु माथि गलत सन्देश जाने यस दृश्यमा पक्कै आत्म समीक्षा गर्नुहुनेछ, परिष्कृत र परिमार्जन गरी सकरात्मक सन्देश प्रवाह गर्नुहुनेछ, निर्णय तपाईकै हो, तपाईको जीवन तपाईले बाँच्ने हो, हाम्रो जीवन हामीले वाच्ने हो तर प्रकाश सपुत जी पीर माथि हाम्रो चिन्ता होइन, प्रश्न – आत्म स्वाभिमानको हो । त्यसैले भन्छौ कला कलाको लागि होइन्, कला जीवनको लागि हुनु पर्छ ।