अन्तर्राष्ट्रिय सेटिङ अनुरूप संसद विघटन गरिएको थियो : प्रचण्ड

काठमाडौं। चुनाव केन्द्रित राष्ट्रिय राजनीतिक चहलपहल बढ्न थालेको छ। बुधबार नेकपा (माओवादी केन्द्र)ले राजधानीमा उपत्यका विशेष प्रदेश समितिको आयोजनामा वैचारिक-राजनीतिक प्रशिक्षण गरेको छ। प्रशिक्षणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता सहभागी छन्। माओवादी केन्द्र उपत्यका विशेष समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिको प्रशिक्षण भएको हो।

पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले दुई दुई पटकको प्रतिनिधिसभा विघटन अन्तर्राष्ट्रिय सेटिङ अनुरूपको भएको बताएका छन्। तत्कालीन प्रधानमन्त्री केपी ओलीको सहभागितामा भएको सो सेटिङ​लाई आफूहरूले भत्काउन सफल भएको उनको दाबी छ।

प्रचण्डले भने, ‘माओवादी जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको उपलब्धि उल्ट्याउने षड्यन्त्र अनुरूप विघटन गरिएको थियो। त्यसमा ठूलो अन्तर्राष्ट्रिय सेटिङ अन्तरगत थियो। देशभित्र पनि प्रतिक्रियावादीहरूको सेटिङ अन्तरगत थियो। तर हामीले सशक्त रुपमा जनतामा अपिल गरेपछि उनीहरूको सेटिङ सफल हुन पाएन।’

उनले कम्युनिस्टहरुबीचको एकतालाई धेरैले स्वीकारेपनि केपी ओलीको कार्यशैलीले नेकपा विभाजित बनेको बताए। प्रचण्डले एमाले अध्यक्ष ओली प्रतिक्रान्तिको खलनायक भएको पनि बताए। उनले पार्टी विभाजित हुनु दुर्भाग्य भएको बताए। ‘पार्टी एकता प्रक्रियाले पूर्णता पाउँदा नपाउँदै पार्टी लिडरसिपमा, जसलाई हामीले नायक बनाउन सकिएला कि भनेर केपी ओलीलाई प्रधानमन्त्री बनाएका थियौँ। उनी नै प्रतिक्रान्तिका खलनायक भए,’ उनले भने।