महोत्तरीका ८० प्रतिशत पालिका जित्ने काँग्रेसको दाबी

महोत्तरी, २ फागुन – नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले आगामी स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत पालिकामा जित्ने दावी गरेका छन् । अघिल्लो निर्वाचनमा भन्दा कांग्रेसको संगठनिक अवस्था निक्कै बलियाे भएकाले महाेत्तरीका १५ मध्ये १२ भन्दा बढी स्थानीय तहमा बहुमत आउने उनले दावी गरेका छन् ।

क्षेत्र नम्वर १ महोत्तरीले आज आयोजना गरेको होली विशेष कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा उनले यस्ताे दावी गरेका हुन् । उनले बाहिर सार्वजनिक भए जस्ताे महाेत्तरी कांग्रेसमा कुनै तिक्तता पनि नरहेको पनि जिकिर गरे ।

जिल्ला कमिटी सदस्य विनोद बरालले स्थानीय तह निर्वाचनकाे टिकटप्रति लक्षित गर्दै कुनै पनि व्यक्ति बलियो नभएको र संगठनिक संरचना बलियो भए मात्र व्यक्ति बलियो हुने बताए । `कुनै पनि व्यक्ति आफू बलियो छु भनेर नसोचौँ पहिला संगठनलाई दरिलो बनाऔँ ।´ उनले भने ।

उम्मेदवारहरूको विषय टुंग्याउन पार्टीले केन्द्रीय सदस्य श्याम घिमिरेलाई खटाएको छ । होलीपछि नै चुनाव लक्षित कार्यक्रम र उम्मेदवारको बिषयमा ध्यान दिने नेता घिमिरेको भनाइ छ ।

पार्टीले गठबन्धनको बिषयमा निर्णय गरेर सोहीअनुसार अगाडि बढ्ने नेता घिमिरेकाे भनाइ छ । बर्दिबास नगरपालिकाका युवा नेता प्रल्हाद घिमिरेले भने गठबन्धनको कुनै औचित्य नभएको बताए ।