सुरु भयो म्यादी प्रहरी भर्ना प्रक्रिया : ४० दिनको तलब ४३ हजार

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरू गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख संख्यामा म्यादी प्रहरीको आवेदन चैत पहिलो सातामा माग्ने गरी काम भइरहेको छ । अहिले सम्बन्धित जिल्लाका मतदान केन्द्र कति छन्, तिनीहरूको विवरण लेखाजोखा भइरहेको छ ।

‘कुन जिल्लामा कति मतदान केन्द्र छन्, त्यहीअनुसार सम्बन्धित जिल्लाहरूले म्यादी प्रहरी भर्ना लिन्छन्,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले भने । स्थानीय चुनावका लागि म्यादी ४० दिनका लागि भर्ना गरिने छ ।

म्यादी प्रहरीका लागि ४ अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृति दिएको केसीले बताए । ४० दिन भर्ना हुने म्यादी प्रहरीले तलब–भत्ता–राशन सबै जोडेर ४३ हजार पाउँछन् ।

म्यादी प्रहरीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएर मेडिकल पास गरेका मानिसहरू पहिलो प्राथमिकतामा छन् । दोस्रो, प्राथमिकतामा पूर्वप्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छोडेका पर्छन् ।

तेस्रो, प्राथमिकतामा विदेशी सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका वा जागिर छोडेर आएका पर्छन् । चौथो, प्राथमिकतामा सुरक्षा निकायमा भर्ना हुनका लागि न्यूनतम् मापदण्ड पूरा हुन सक्ने व्यक्तिहरू पर्छन् । ‘४० दिनपछि उनीहरू बिदा हुन्छन्, अर्को चुनावको लागि फेरि म्यादी प्रहरीको भर्ना खुलाइने छ,’ केसीले भने ।

यसपालिको चुनावमा सुरक्षा निकायले सवारीसाधन खरिदका लागि बजेट माग गरेको भए पनि त्यो स्वीकृत भइसकेको छैन । आवश्यकता अनुसार अर्थ मन्त्रालयसँग समन्वय गरी खरिद अघि बढाइने प्रवक्ता केसीले बताए ।