खुलेआम राजनीतिमा आएर प्रतिस्पर्धा गर्न प्रकाश सपुतलाई रञ्जीत तामाङको चुनौती

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा यो चर्चाको विषय बनेको छ ।

माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित गीतबारे मिश्रित प्रतिक्रिया आएका छन् । माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आक्रोश पोखेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जीत तामाङले सुपतलाई खुलेआमा राजनीतिमा आउन चुनौती दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैको उक्साहटमा माओवादीविरुद्ध प्रयोग हुनुभन्दा खुलेआमा राजनीतिक प्रतिस्पर्धामा आउन आग्रह छ ।’ उनी उक्त गीत ‘पिर’ शीर्षमा कथाकारको अर्धचेत, अल्पज्ञानको उपज भएको बताएका छन् ।

माओवादीको कमीकमजोरी स्वीकार गर्दै भनेका छन– ‘परिवर्तनका लागि मृत्युसँग मुकाबिला गरेका हाम्रा कमरेडहरु त्यति निच जिवन बिताइरहेका छैनन्, बरु एक छाक खाएका छन्, एकधरो कपडा लाएका छन् तर स्वाभिमान, नैतिकता र आत्मसम्मान गुमाएर जिउँदै मरेका छैनन ।’

उक्त गीत माओवादी जनयुद्ध र महिला जनमुक्ति सेनाहरुलाई अपमानित गरेर बनाइएको भन्दै गीत हटाउन पर्ने उनको माग छ ।