आफ्नै खुट्टामा उभिने हो, एमालेसँग सहकार्य हुँदैन : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल सहकार्य नहुने बताएका छन्। विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरूसँग अध्यक्ष प्रचण्डले तत्काल एमालेसँग सहकार्य नहुने स्पष्ट पारे। तर अरू वामपन्थी शक्तिहरूसँग भने सहकार्य जारी राखिने उनले बताए।

‘केपी ओली नेतृत्वको एमाले गुटसँग तत्काल सहमति, सहकार्य हुने कुनै सम्भावना छैन,’ उनले भने, ‘काँग्रेससँग कति होला कति नहोला त्यो आफ्नो ठाउँमा छ। मुद्दा मिल्नेहरूसँग मिलेर जाने नभए आफ्नै खुट्टामा उभिएर चुनावमा जाने हो।’ एमाले बाहेकका अरू वामपन्थी शक्तिहरूसँग भने सहकार्य जारी राखिने प्रचण्डले बताए।

‘सकेसम्म आफ्नै खुट्टामा उभिएर चुनावमा जान्छौं,’ उनले भने, ‘कहीँ कतै तालमेल हुन सक्छ, तालमेल हुने भयो भने सत्तारूढ गठबन्धनसँगै हुनेछ।’ उनले जनताको मन जितेर चुनाव जित्ने सबै पार्टीको प्राथमिकता हुने बताए।

‘गठबन्धन पहिलो कुरा होइन, प्रत्येक पार्टीले जनताको मन जित्ने र चुनाव जित्नै नै प्राथमिकतामा छ,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिने हो, संगठन बलियो बनाउने हो।’ प्रचण्डले एमसीसीको विवादलाई चुनावपछि फेरि छलफलमा ल्याउने गरी पार्टीमा टुंग्याइएको बताए। चुनावसम्म यो विषयलाई अपिलमार्फत साझा भाषा बनाएर जनतामाझ जाने सहमति पार्टीभित्र बनेको उनले दावी गरे।