एमसीसी पार्टीबाट फेल भए राजीनामा दिन्छु : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले एमसीसीबारे पार्टीमा स्थानीय तहको चुनावपछि थप छलफल हुने बताएका छन्। प्रचण्डले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए।

चुनावसम्म यो विषयलाई अपिलमार्फत साझा भाषा बनाएर जनतामाझ जाने सहमति पार्टीभित्र बनेको उनको दाबी छ। ‘व्याख्यात्मक घोषणासहित सम्झौताकै अंगका रूपमा प्रतिनिधि सभाले पारित गरेपछि अहिलेलाई यो समस्याको समाधान निस्केको छ। यदि यो व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा कतै मिनिमाइज गरियो भने फेरि त्यो विषय आन्दोलनको विषय हुन सक्छ,’ उनले भने, ‘यद्यपि हाम्रो पार्टीभित्र एमसीसीबारे एकै मत छैन। चुनावसम्म यो विषयलाई एउटा अपिलमार्फत एउटै भाषा बनाउने र निर्वाचनपछि फेरि छलफल चलाउने भन्ने छ।’

एमसीसी माओवादीको पनि समर्थनमा प्रतिनिधि सभाबाट अनुमोदन भइसकेको छ तर माओवादीभित्र केही नेताहरूले यसको विरोध भने जारी नै राखेका छन्। विराटनगर विमानस्थलमा प्रचण्डले सञ्चारकर्मीहरूसँग एमसीसी पार्टी बैठकबाट फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने घोषणासमेत गरे।

‘आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ। फेल भयो भने राजीनामा दिन्छु। ढुक्क हुनुहोला,’ प्रचण्डले भने। उनले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा होमिने पनि बताए। तर, स्थानीय तहमै तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने उनको धारणा छ। अर्को प्रशंगमा प्रचण्डले सभामुखले पार्टी फुटाउन भूमिका खेलेको भनिनुको तर्क नै नरहेको बताए। सभामुखले संविधानअनुसार आफ्नो भूमिका खेल्दा पनि परिवर्तन विरोधी भूमिकामा रहेको एमालेले बखेडा झिकिरहेको आरोप प्रचण्डले लगाए।