पछिल्ला दिनमा तनावमा छन् प्रचण्ड, कारण यस्तो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो । आन्तरिक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना माओवादीले जारी ग¥यो ।

बैठक स्थगित गरेर विभिन्न विषयमा सहमति जुटाउने प्रयास अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन् । तर, सहमति जुटाउन उनी असफल भएका छन् । नेताहरूको व्यवस्थापन तथा समितिलाई समावेशी बनाउने गृहकार्य गरिरहेका अध्यक्ष प्रचण्डले अझै सहमतिको मिलनबिन्दु भेटाउन नसकेको माओवादी स्रोतको दाबी छ ।

शुक्रबारदेखि सुरु भएको बैठकमा एमसीसी, पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी समिति गठन, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय तहको निर्वाचनलगायतका विभिन्न एजेन्डामा छलफल भइरहेको छ । यी एजेन्डामा सहमति जुटन नसकेपछि शनिबार र आइतबार बैठक बस्न सकेन ।

‘एमसीसी प्रचण्ड कमरेडका लागि गल्फासो भएको छ । पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो समितिका साथै जिम्मेवारी बाँडफाँटमा अझै सहमति जुट्न सकेको छैन । उहाँ सहमतिमै अगाडि बढ्न खोजे पनि सबैको चित बुझाउन नसक्ने अवस्था छ, प्रचण्ड कमरेड अहिले धेरै तनावमा हुनुहुन्छ,’ माओवादी केन्द्रका एक नेताले भने ।राजधानी दैनिकमा छापिएको छ ।

सहमति जुट्न नसकेको अवस्थामा अरू एजेन्डालाई थाँती राख्दै केन्द्रीय समितिलाई पूर्णता दिएर बैठक समापन गर्ने विषयमा समेत अध्यक्ष प्रचण्डले छलफल थालेका छन् । माओवादीको विधानमा ३ सय १ जना केन्द्रीय सदस्य बनाउने उल्लेख गरिएको छ ।

तर, अहिलेसम्म २ सय ४६ जना मात्रै बनाइएको छ । यस्तै, केन्द्रीय कार्यालय सञ्चालनका लागि एक समिति गठन हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्ने माओवादीले विधानमा उल्लेख गरेको छ ।