यस्तो छ व्याख्यात्मक टिप्पणीबारे एमसीसीले जारी गरेको प्रेस नोटको नेपाली अनुवाद (पूर्णपाठ)

काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले नेपालको संसदबाट भएको अनुमोदनलाई स्वीकार गरेको छ। संसदीय अनुमोदन स्वीकारेको जनाए पनि एमसीसी मुख्यालयले वासिङ्टनबाट मंगलबार जारी गरेको विज्ञप्तिमा ‘व्याख्यात्मक घोषणा’का बारे भने केही भनिएको छैन।

सम्झौतालाई लिएर नेपालमा विवाद भएपछि सरकारको प्रस्तावमा प्रतिनिधिसभा बैठकले १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो। प्रतिनिधिसभाबाट एमसीए कम्प्याक्ट अनुमोदन गरेसँगै अमेरिकी दूतावासले वक्तव्य जारी गर्दै ‘अनुमोदनले सम्झौता कार्यान्वयनको लागि बाटो खोलेको’ जनाएको थियो। तर, १२ बुँदेबारे दूतावास पनि मौन थियो।

मंगलवार साँझ मात्र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका थिए। संवादका क्रममा एमसीसी अनुमोदनको विषयमा छलफल भएको थियो। संवादका क्रममा १२ बुँदेबारे के कुरा भयो भन्ने विषय अहिलेसम्म खुलेको छैन। यद्यपि एमसीसी मुख्यालयको वक्तव्यमा संसदबाट अनुमोदन भएको एमसीसी सम्झौताको लक्ष्य नेपालको ऊर्जा र यातायात क्षेत्रलाई आधुनिकीकरण गर्दै ८० प्रतिशत नेपाली जनसंख्यालाई सहयोग पुर्‍याउने रहेको जनाइएको छ।

एमसीसी: नेपाल कम्प्याक्ट अनुमोदन

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले, एमसीसी र नेपाल सरकारबीचको ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको संघीय संसदको फेब्रुअरी २७ को निर्णयलाई स्वीकार गरेको छ। एमसीसीको नेपाल कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले, नेपाल सरकारलाई सधैँ सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यको रूपमा स्वीकार गर्ने छ। यस कम्प्याक्टको अनुमोदनले पाँच वर्षे कार्यक्रम कार्यान्वयन गर्न तथा काम जारी राख्न मार्ग प्रशस्त गरेको छ, जसले बिद्युतको भरपर्दो आपूर्ति, यातायात लागतमा कमी र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ।

कुल जनसङ्ख्याको झण्डै ८० प्रतिशत भन्दा बढी नेपाली जनतालाई प्रत्यक्ष फाइदा पुर्‍याउने उद्देश्यका साथ नेपालको ऊर्जा र यातायात क्षेत्रलाई आधुनिकीकरण गर्ने आफ्नो लक्ष्य निर्धारण गरी नेपाल सरकारले २०१७ मा एमसीसी अनुदानमा हस्ताक्षर गरेको थियो।

नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ७५ औं वर्ष पुगेको छ। यी ७५ वर्षमा नेपालले अतुलनीय र सम्झन लायक परिवर्तनहरू अनुभव गरेको छ। यी परिवर्तनहरूमा एमसीसी र अमेरिकी जनता नेपालको साथमा उभिएका छन् र नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, विभिन्न स्वास्थ्य र शिक्षा कार्यक्रमहरू, र थप अन्य क्षेत्रमा सहयोग गर्दै आएका छन्। नेपालसँगको संयुक्त राज्य अमेरिकाको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ र हामी नेपालको लोकतान्त्रिक मूल्य मान्यता र दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तरता दिनेछौं।

एमसीसी स्थापना भएको करिब २० वर्षको अवधिमा, एमसीसी कम्प्याक्टले विश्वभर विकासशील देशहरूसँग साझेदारी गर्दै आर्थिक स्वतन्त्रता (उदारीकरण) को नीति अनुरूप नागरिकहरूमा लगानी गरी गरिबी निवारण गर्ने, प्रजातान्त्रिक सिद्धान्तहरू प्रवर्द्धन गरी भ्रष्टाचार विरुद्ध लड्दै सुशासन स्थापनाका लागि प्रतिबद्ध भई कार्य गर्दै आएको छ।