श्रेष्ठ पक्षको बहस : पार्टीमा अन्तरसंघर्ष कि विकल्प खोज्ने ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठनिकट अधिकांश केन्द्रीय सदस्यले तत्काल पार्टी विभाजन गरेर कसैलाई फाइदा नहुने सुझाव दिएका छन्। प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित गरेको विषयलाई लिएर असन्तुष्ट नेता श्रेष्ठले आफू पक्षधर केन्द्रीय सदस्यहरूको दुई दिनदेखि आन्तरिक बैठक गरिरहेका छन्।

सोही विषयलाई लिएर श्रेष्ठले नयाँ पार्टी गठन गर्ने कि माओवादीभित्र अन्तरसंघर्ष गरेर जाने भन्ने विषयमा आफू पक्षधर केन्द्रीय सदस्यहरूसँग निरन्तर छलफल गर्दै आएका छन्। छलफलमा सहभागी नेताहरूले एकतामै जोड दिएका हुन्। श्रेष्ठले नेताहरूको सुझावका आधारमा निर्णय लिने बताए। अधिकांश नेताहरूबाट पार्टी विभाजन गर्नेभन्दा त्यहीँभित्र संघर्ष गर्नुपर्ने सुझाव आएको बताइएको छ।

श्रेष्ठ निकट माओवादीका एक केन्द्रीय सदस्यका अनुसार शुक्रवारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा जाने कि नजाने ? केन्द्रीय समितिमा जाँदा पार्टी सुधारका लागि कस्तो आफू पक्षबाट लिने दस्तावेज लिने भन्ने विषयमा पनि छलफल भइरहेको छ। ‘तत्काल पार्टी विभाजन गरेर हामीलाई पनि फाइदा छैन। फेरि फुटाएर कता जाने भन्ने अन्योल छ,’ ती नेताले भने, ‘बरु यही पार्टीलाई रूपान्तरण गरेर क्रान्तिकारी पार्टी बनाऊँ। आफ्नो कुरा केन्द्रीय समिति बैठकमा राखौं। त्यसमा सम्बोधन नभए सोचौंला।’

प्रतिगमनविरुद्धको आन्दोलनमा सफलता भइरहेको अवस्थामा पार्टी फुटाएर कसैलाई फाइदा नहुने नेताहरूले श्रेष्ठलाई सुझाएका छन्। कतिपय नेताहरूले पार्टीमा धेरै अपमान सहेर बस्न नहुने सुझाव समेत दिएका छन्। पार्टी एकता भएदेखि नै माओवादीमा पेलान सहेको बताउँदै त्यसरी धेरै बस्न नहुने सुझाव दिएको अर्का एक केन्द्रीय सदस्यले बताए।

पार्टीमा छलफल हुनु सामान्य भएको र पछिल्लो समय अध्यक्षको अभिव्यक्तिले अलि असहज भएको श्रेष्ठ पक्षका माओवादी केन्द्रीय सदस्य प्रकाश पोखरेलले बताए। ‘हामी छलफलको प्रक्रियामा छौं। हाम्रो पार्टी विभाजन गर्ने र फुटाउने कुरा होइन। राष्ट्रिय स्वाधीनताको कुरा सार्वजनिक रूपमा उठाउन पाउने व्यक्तिको कुरा हो। यो कुरा सार्वजनिक गरेबापत अध्यक्षले पार्टीबाट गएपनि हुन्छ, वामदेवको जस्तो हालत हुन्छ भनेकाले समय भएको हो,’ उनले भने, ‘अध्यक्षले कस्तो भूमिका निर्वाह गर्नुहुन्छ त्यसमा पार्टी एकता सुनिश्चित हुन्छ।’

राजनीतिमा आत्मसम्मान हुने भन्दै हेपिएर एउटै पार्टीमा बस्न नसकिने उनीहरूले सुझाएका हुन्। गत सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले घुमाउरो शैलीमा पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टी छोडेर गए हुन्छ भन्ने अभिव्यक्ति दिएपछि दुई नेताको सम्बन्धमा केही चिसोपना आएको छ। नेता नारायणकाजी श्रेष्ठलाई मनाउन केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै उनको निवास हात्तिवन गएका थिए। दुई नेताबीचको भेटवार्ताले चिसिएको सम्बन्धमा केही सुधार भएको भनिए पनि त्यो मत्थर भइसकेको देखिएको छैन।

आज बिहान पनि श्रेष्ठले बिहीबार नै प्रचण्डलाई भेटेका थिए। भेटमा प्रचण्डले पार्टी एकतालाई जोड दिँदै आफ्नो मनसाय श्रेष्ठले पार्टी छोडेर जाउन् भन्ने नरहेको प्रष्ट्याएको खुमलटार स्रोतले जनाएको छ। त्यसक्रममा प्रचण्डले पार्टी विभाजन हुनेगरी गतिविधि नगर्न श्रेष्ठलाई आग्रह गरे। प्रचण्डलाई भेटेलगतै श्रेष्ठले आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गरेका थिए।