नारायणकाजीलाई प्रचण्डको आग्रह : पार्टीबाट अलग नहुनुस्

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ। उनीहरुबीच अध्यक्ष प्रचण्डको निवास खुमलटारमा करिब आधा घण्टा छलफल भएको हो। छलफलमा प्रचण्डले नेता श्रेष्ठलाई मनाउने प्रयास गरेका छन्। तर, पार्टी एकता कायम गर्ने विषयमा छलफल केन्द्रित रहे पनि निष्कर्षविहीन भएको बुझिएको छ।

एमसीसी संसदबाट व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णयमा श्रेष्ठ असन्तुष्ट छन्। संसदबाट एमसीसी पास भइसकेपछि पनि श्रेष्ठले आफ्नो विमति सार्वजनिक गर्दै आएका छन्। एमसीसी संसदबाट अनुमोदन भइसकेपछि गत सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले घुमाउरो शैलीमा पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टी छोडेर गए हुन्छ भन्ने अभिव्यक्ति दिएपछि दुई नेताको सम्बन्धमा केही चिसोपना आएको छ।

नेता नारायणकाजी श्रेष्ठलाई मनाउन केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफै उनको निवास हात्तिवन गएका थिए। दुई नेताबीचको भेटवार्ताले चिसिएको सम्बन्धमा केही सुधार भएको भनिए पनि त्यो मत्थर भइसकेको देखिएको छैन। आज बिहानको छलफलमा प्रचण्डले पार्टीबाट अलग नहुन आग्रह गरेका थिए। तर श्रेष्ठले ‘मलाई अलग हुने मन नहुँदा नहुँदै पनि तपाईंले नै अलग्याउन खोज्नु भएको छ’ भनेको स्रोतले बतायो।

यसबीचमा नारायणकाजी श्रेष्ठले आफू पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै बैठक राखेर पार्टीको पछिल्लो अवस्थाबारे छलफल समेत गरेको श्रेष्ठ निकट एक नेताले बताए। उनले पूर्व माओवादी नेताहरूसँग पनि संवाद अघि बढाएका छन्।