एमसीसी जस्ताको तस्तै पास गर्न खोजिएको थियो, मैले रोकेको हुँ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित भएसँगै गठबन्धन जोगिएको र अब सरकार पनि कायम रहने बताएका छन्। सोमबार पत्रकार सम्मेलनमार्फत् एमसीसी पारित गर्नुअघि सरकार परिवर्तन हुने हो कि भन्ने अवस्था आएको तर अब परिवर्तन नहुने स्पष्ट भएको उनले बताए।

‘एमसीसीलई लिएर बहस भए, सबैभन्दा बढी माओवादी केन्द्र र म माथि थुप्रै टिप्पणी भए, हिजो निकास दिइयो,’ प्रचण्डले भने, ‘अर्को समीकरण बन्ने हो कि भन्ने थियो। सबै अन्योल अन्त्य भएको छ, गठबन्धन कायम रहन्छ सरकार अगाडि जान्छ र चुनावमा केन्द्रित हुन्छौं।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको तत्कालीन सरकारले एमसीसी जस्ताको तस्तै पास गर्न खोजे पनि आफूले नमानेको बताए। ‘तत्कालीन नेकपा हुँदा ओलीजी सचिवालयमा अल्पमतमा थिए। तर उनी एमसीसीलाई जस्ताको तस्तै पास गर्न चाहन्थे,’ उनले भने, ‘तर हामीले कार्यदल बनाएर यसलाई संशोधन गरेर मात्रै लैजानुपर्छ भनेका थियौँ।’

उनले ओलीले संकल्प या अरू कुनै जरुरी प्रस्ताव आवश्यक नभएको भन्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई भनेको पनि दाबी गरे। ‘केपीजीले एमसीसीमा कुनै कुरा संशोधन आवश्यक छैन भनेका थिए,’ उनले भने, ‘उनले देउवाजीलाई अक्षरशः पास गरौं भनेका थिए तर हामीले नमानेकाले अघि बढेको थिएन।’