माओवादी केन्द्र फुटनजिक, प्रचण्ड भन्छन्- वामदेव जसरी पार्टी छाडेर जान खोजे रोक्न सक्दिनँ

काठमाडौँ- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को विवाद सतहमा आएको छ। एमसीसी यथाअवस्थामा पारित गर्ने पक्षमा नरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको विवादले माओवादी तरंगित भएको हो।

सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रचण्डले वरिष्ठ नेता श्रेष्ठतिर लक्षित गर्दै वामदेव गाैतम जसरी पार्टी छाडेर गए पनि आफूले रोक्न नसक्ने टिप्पणी गरेका छन्।

उनले नारायणकाजीतिर लक्षित गर्दै एमसीसीलाई लिएर धेरै भावुक नहुन भनेका छन्। प्रचण्डले भारतसँग भएको महाकाली सन्धिलाई स्मरण गर्दै त्यसबेला एमालेका नेता गौतमले जस्तो बाटो रोजेमा रोक्न नसक्ने पनि उल्लेख गरे। उनले घुमाउरो भाषामा असन्तुष्टि पार्टी बाहिरै पोखेको भन्दै पार्टी छाडेर गए पनि नरोक्ने बताएका हुन्।

प्रचण्डले एमसीसी पास गर्ने निर्णय पार्टी बैठकमा लिएदेखि नै नारायणकाजी, गिरिराजमणि पोखरेलसहितका नेताहरुले असहमति जनाउँदै आएका थिए। तर सोमबारको पत्रकार सम्मेलनमा प्रचण्डले माओवादीका सबै सांसद एक भएर एमसीसी पास गरेको बताएका छन्।

प्रचण्डले असन्तुष्टि आफ्नो विचार पार्टी केन्द्रीय समितिमा व्यवस्थित रुपमा राख्न भनेका छन्। आफूले असन्तुष्टि बाहिर नलैजान भने पनि नारायणकाजीले नमानेको पनि प्रचण्डले बताएका छन्।

‘नारायणकाजीलाई यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैंतिर आउँछ, केन्द्रित हुन्छन् भन्ने परेको हो’, प्रचण्डले भने, ‘जनता ह्वार्र मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिक रुपमै बोलिदिनु भएछ।’

उनले नारायणकाजीतिर लक्षित गर्दै मतभेद र विचार राख्ने अधिकार सबैलाई रहेको बताए।

‘मतभेद राख्ने अधिकार हुन्छ। तपाईं पार्टीमा विचार राख्नुस् सम्मान गरिन्छ भनेको हो। केन्द्रीय समितिको बैठकमा राख्नुस् सम्मान गर्छु भनेकै हो। बाहिर चाहिँ नबोल्नुस् भनेको थिएँ’, उनले भने, ‘तर उहाँलाई यो भनेपछि सबै कार्यकर्ता मैतिर केन्द्रित हुन्छन् भन्ने लागेको छ। उहाँले त्यो नगर्नु राम्रो हुन्थ्यो।’

उनले महाकाली सन्धिपछि एमालेका आधा केन्द्रीय सदस्य लिएर माले बनाएका वामदेवले नयाँ पार्टीमा केही गर्न नसकेको पनि सम्झिए। नारायणकाजीले पार्टीमा कुरा नराखी बाहिर बोलेको सन्दर्भमा प्रचण्डले वामदेवलाई सम्झिएका हुन्।

‘महाकालीमा सन्धिमा राष्ट्रघात भयो भनेर एमालेका आधा केन्द्रीय कमिटी लिएर वामदेवजी जानु भयो’, उनले भने, ‘तर भोट आयो शून्य, उहाँको पार्टीले एक सिट पनि जित्न सकेन। त्यसैले कोही सेन्टिमेन्टमा आउनु हुँदैन भन्ने हो। राजनीति भोलेन्टियर्स कर्म हो कोही कसैलाई जबर्जस्ती गर्नु हुँदैन। कसैलाई जबर्जस्ती बस भन्न पनि सकिँदैन।