एमसीसीलाई समर्थन गर्नेहरू राष्ट्रिय गद्दार हुन् : भीम रावल

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले अमेरिकी अनुदान एमसीसीमा रहेका केही बुँदा राष्ट्रघाती रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा नेता रावलले उक्त एमसीसी सम्झौतामा रहेका केही बुँदाले नेपालको सार्भभौम सत्तामा आँच पुर्‍याउने बताए। उनले भने, ‘यदि जबरजस्ती एमसीसी एमसीसी पास भयो भने यसले राष्ट्रिय हितमा गम्भीर आघात पुर्‍याउँछ।’

प्रतिनिधिसभामा होहल्लाका बीचमा एमसीसी सम्झौता पेश हुनु आपत्तिजनक भएको उनले बताए। ‘एमसीसीलाई संसद्‍मा पेस गर्नु नै देशको अपमान हो। देश र जनताप्रति धोका हो। यसमा जजसले समर्थन गर्छन् उनीहरू राष्ट्रिय गद्दार हुनेछन्,’ नेता रावलले भने। एमसीसी राष्ट्रघाती भएको भन्दै एमसीसी सम्झौतालाई संसद्‍बाट अस्वीकार गरियोस् भनी उनले सबै समक्ष आह्वान समेत गरेका थिए।

सम्झौताको एक प्रावधानमा आयोजनाको अवधि पाँच वर्ष भनिए पनि त्यसका अन्य प्रावधानले अनिश्चितकालसम्म रहने सांसद रावलको दाबी छ। ‘नेपालले अमेरिकाको वर्तमान र भविष्यमा बन्ने कानुनसमेत मान्नुपर्नेछ र अमेरिकाको राष्ट्रिय सुरक्षा स्वार्थअनुरूप नेपाल सरकारले काम गर्नुपर्ने अवस्था भई नेपालको संविधानमा उल्लेखित स्वतन्त्र परराष्ट्र नीति र असंलग्नतामा आघात पुग्नेछ,’ रावलले भने।