एनआरएनए यूकेद्धारा केन्द्रलाई पत्र, सरोकारका विषयहरुमा सनुवाई नभएसम्म ५६ हजार डलर नपठाउने

गैर-आवासीय नेपाली संघ यूकेले संघका अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउदै युकेका तर्फबाट केन्द्रमा पठाउनु पर्ने सदस्यता शुल्कका सम्बन्धमा स्पष्ट पारेको छ । पत्रमा गैर-आवासीय नेपाली संघ यूके संघको अन्तराष्ट्रिय समन्वय परिषदसंग सहकार्य गर्न र विधानले दिएको अधिकार कर्तव्यको पालना गर्न प्रतिबद्ध भएको जानकारी गराइएको छ । त्यस्तै पत्रमा सदस्यता शुल्क भुक्तानीका लागि राष्ट्रिय समन्वय परिषद यूकेका सरोकारका विषयहरुको समयमै सुनुवाई होस भन्ने आग्रह पनि गरिएको छ ।

पत्रमा भनिएको छ – “गैर-आवासीय नेपाली संघ यूकेका सदस्यहरुको तर्फबाट संघको दशौं महाधिवेशन तथा निर्वाचनमा निर्वाधरुपमा भाग लिन पाउनु पर्नेमा हामी स्पष्ट छौ । गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूकेका तर्फबाट पठाइएका प्रतिनिधिका सम्बन्धमा आईसीसीको सचिवालयले बेलाबेलामा अपनाउँदै आएको रवैयाबाट भने हामी चिन्तित छौ । राष्ट्रिय समन्वय परिषद यूकेका तर्फबाट हुने प्रतिनिधित्व सम्बन्धमा अन्तराष्ट्रिय समन्वय परिषदको सचिवालय तथा पदाधिकारी लगायतबाट फरक फरक धारणा सार्वजनिक हुँदा हाम्रो वैधानिक प्रतिनिधित्वका सम्बन्धमा आश्वस्त हुन सकिरहेका छैनौं । हामी राष्ट्रिय समन्वय परिषद यूकेको वर्तमान कार्यसमितिले प्रमाणित गरेर पठाएका सम्पूर्ण प्रतिनिधिहरुले महाधिवेशन तथा निर्वाचनमा भाग लिन पाउने कुराको पूर्ण सुनिश्चितता होस् भन्ने चाहान्छौ ।”

यसैगरी पत्रको दोश्रो बुदामा भनिएको छ – “गैर-आवासीय नेपाली संघ यूके हालै मात्र बेलायतको स्थानीय कानून अनुसार कल्याणकारी संस्थाको रुपमा दर्ता भएको छ । यस संस्थाबाट हुने सम्पूर्ण आर्थिक गतिविधि नियम कानूनको परिधिभित्र रहेर मात्र गर्नुपर्ने हुन्छ । अतः केन्द्रमा सदस्यता शुल्क बापतको रकम पठाउनु पहिले वैधानिक दायीत्व श्रृजना हुने गरी केन्द्र र हामविचमा अधिकार, कर्तब्य र दायित्व बाँडफाँडको सामान्य दस्ताबेजको रुपमा नियमानुसारको सम्झौता पत्र (MoU) तयार गरी हस्ताक्षर हुन जरुरी हुन्छ । हाम्रो तर्फबाट यस्तो दस्ताबेजका सम्बन्धमा आवश्यक तयारी भैसकेको जानकारी गराउदै अन्तराष्ट्रिय समन्वय परिषदका तर्फबाट समेत समयमै आवस्यक पहल हुनका लागि अनुरोध गर्न चाहान्छौ । “

गैर-आवासीय नेपाली संघ यूकेको बैंकिङ कारोवारको पूर्ण हस्तान्तरण नभइसकेको र रकम स्थानान्तरण सहज नभइरहेको कारण समय लाग्न सक्ने अवस्था जानकारी गराउँदै पत्रमा भनिएको छ – “अन्तराष्ट्रिय समन्वय परिषदको विधान अनुसारको हाम्रो दायीत्व समयमै बुझाउने कुरामा हामी पुर्ण प्रतिबद्ध छौं। हाम्रा चासोका विषयहरुमा अध्यक्ष ज्युको समयमै ध्यान जानेछ भन्नेमा हामी विस्वस्त छौ।”

त्यस्तै गैर-आवासीय नेपाली संघ यूकेको नेपाल हाउस बनाउने कार्यक्रम बारेमा जानकारी गराउँदै भनिएको छ आईसीसीको तर्फबाट सदस्यता शुल्कमा छुट दिएर वा नगदै सहयोग गर्न आग्रह गरिएको छ । “करिव दुई लाख गैर-आवासीय नेपालीहरुको बसोबास भएको भनिएको यो देशमा गैर-आवासीय नेपाली संघ तथा यहाँ रहेका नेपाली हरुको साझा घरको आवस्यकता महशुस भएको छ । अतः गैर–आवासीय नेपाली संघ यूकेले यो बर्ष नेपालीहरुको साझा घर नेपाल हाउस बनाउने अभियान सुरु गरेको छ । यस कार्यमा प्रोत्साहन गर्न अन्तराष्ट्रिय समन्वय परिषदबाट हामीलाई सदस्यता शुल्कबापतको दायित्वमा छुट दिएर वा अन्य तरिकाले सहयोग पुर्याउनु हुनका लागि हार्दिक अनुरोध गर्दछौ” – पत्रमा भनिएको छ ।