प्रचण्डले एमसीसी पारित गर्नुपर्छ भनेर भन्नुभएको छैन ,हाम्रो पार्टीले एमसीसीको विपक्षमा मतदान गर्छ : नारायणकाजी

काठमाडौं १० फागुन । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अमेरिकी परियोजना एमसीसी पारित गर्नुपर्छ भनेर अध्यक्ष प्रचण्डले कहिल्यै नभनेको खुलासा गरेका छन् ।

आफ्नो पार्टीले एकमतले निणर्य गरेको बताएका उनले बलजफ्ती गरे तत्काल सरकार छाड्ने भन्नेमा माओवादी केन्द्रभित्र कुनै मतभेद नभएको स्पष्ट पारेका छन् ।

आफ्नो पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने दावी गरेका उनले भनेका छन् , ‘देशलाई दूरगामी असर पार्ने संवेदनशील मुद्दा संसद् सुचारु नभएको स्थितिमा सभामुखले के कारणले टेबुल गर्नुभयो, त्यो उहाँले भन्ने कुरा हो । त्यसलाई असफल बनाउन हामी सम्पूर्ण प्रयास गर्छौं । हाम्रो पार्टीले बहिष्कार गर्ने होइन, एमसीसीको विपक्षमा मतदान गर्नेमा म ढुक्क छु ।’

अहिलेको अवस्थामा एमसीसी अनुमोदन गर्नु भनेको राष्ट्रिय सार्वभौमसत्ताविरुद्धमा जानु भएको दावी गरेका उनले यो राष्ट्रघात मात्र नभएर मुलुकलाई द्वन्द्वको दलदलमा धकेल्नु पनि भएको बताएका छन् ।

हिजो राति एक कार्यक्रममा सहभागी भएका उनले अध्यक्ष प्रचण्डले सरकार छाड्ने पत्र नलेखेकामा आश्चर्य व्यक्त समेत गरेका छन् । आफ्नो पार्टीका कुनै पनि मन्त्रीलाई कुर्सीमा बसिरहन पाए हुन्थ्यो भन्ने नभएको भन्दै उनले पार्टीको लाइनमा हामी सबै एकढिक्का भएको स्पष्ट पारेका छन् ।