कतै नटिक्ने भए बाबुराम – जसपा पनि फुटाए,

काठमाडौं । जनता समाजवादी पार्टी अघोषित रुपमा फुटेको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको रडाकोले पार्टी अघोािषत रुपमा फुटेको हो ।

निर्वाचन आयोगमा ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ताका लागि निवेदन परेपछि जनता समाजवादी पार्टी (जसपा) मा भने तरंग ल्याइदिएको छ ।

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईनिकट युवा नेताहरूले समावेशी लोकतान्त्रिक पार्टी दर्ताका लागि निवेदन दिएपछि जसपाको विवाद थप उत्कर्षमा पुगेको हो । भट्टराईनिकट फणिन्द्र देवकोटाको पहलमा उक्त पार्टी दर्ताका लागि आयोगमा निवेदन दिइएको हो ।

अर्थमन्त्री हुँदा भट्टराईको सचिवालयमा काम गरेका देवकोटा जसपाको केन्द्रीय कार्यालयमा कार्यरत थिए । त्यसैले उनै देवकोटालाई नेतृ हिसिला यमीले सहयोग गरेको चर्चा पनि जसपामा चलेको छ ।

निर्वाचन आयोगका एक कर्मचारीका अनुसार जसपाका नेताहरूको निरन्तरको पहल र ताकेताका कारण उक्त पार्टी छिटो दर्ता भएको हो । आउँदो स्थानीय तहको निर्वाचन प्रयोजनका लागि पनि दर्ता हुने गरी समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको छ ।

दर्ताका लागि प्रस्तावित पार्टीको केन्द्रीय कमिटी २७ सदस्यीय हुनेछ । त्यसमा अध्यक्ष र महासचिवसहित सात जना पदाधिकारी प्रस्ताव गरिएको छ । प्रस्तावित पार्टीको २७ सदस्यीय केन्द्रीय कमिटीमा ११ जना महिला र १६ जना पुरुष रहेका छन् । अध्यक्षमा नुवाकोटका दीपक लामिछाने, उपाध्यक्षमा रुपी श्रेष्ठ र लालबाबु प्रसाद साह र महासचिवमा सिर्जना पोखरेल रहेकी छिन् ।

भट्टराईनिकट नेता नवराज सुवेदीले भने नयाँ पार्टी दर्ताका विषयमा आफूलाई थाहा नभएको बताए । जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईबीच अन्तरविरोध बढ्दै गएको छ ।

उनीहरूबीच विवाद साम्य बनाउने प्रयास स्वरुप गत आइतबार साँझ लामो छलफल भएको थियो । जसपाका शीर्ष पाँच नेताहरू उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ र महिन्द्रराय यादवबीच झण्डै ४ घण्टा छलफल भएको थियो । तर, विवाद समाधानको उपाय भने पहिलिएको थिएन ।

बाबुराम भट्टराईले क्लष्टरवाइज तीन अध्यक्ष बनाउनुपर्ने तर्क गरेको छलफलमा श्रेष्ठले भने उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।आइतबार साँझ लामो संवाद गरेका यादवलगत्तै जनकपुर गएका थिए ।

सुवेदी शीर्ष नेताहरूबीच संवाद हुन थाले पनि प्रगति नभएको भने स्वीकार गर्छन् । उनका अनुसार नेताहरूबीच संवाद भए पनि अडानबाट कोही पनि पछि हटेका छैनन् ।