एमसीसी संसदमा टेबल गरौं, सांसदले टुंगो लगाउँछन् : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभई जनअदालतको निर्णयमा एमाले जाने बताएका छन्। यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन्। उनले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभई लाखौं मानिसको सहभागिता हुने बताए।

शनिबार सूर्यविनायक अस्पताल उद्घाटन समारोहमा उनले जनताभन्दा माथि केही नभएको र जनताले दिएको आदेश मान्ने बताए। फरक प्रसंगमा ओलीले एमसीसीलाई जनताको सार्वभौम संसदमा लगेर टुगोंमा पुर्‍याउनुपर्ने दोहोर्‍याए।

‘हामीले सरकारमा रहँदा संसदमा एमसीसी पेश गरौं भनेका थियौं। संसदलेनै निर्णय गर्छ। संसदमा हामीले छानेर पठाएका जनप्रनिधिहरु छन्। निर्णय गर्ने ठाउँमा त पुर्‍याइदिऔं,’ उनले भने, ‘तर, उनीहरूले संसदमा पुर्‍याउन सकेनन्। अहिले पनि निर्णय गर्ने ठाउँमा पुर्‍याउन सकेका छैनन्। बाहिर बुरुक्क-बुरुक्क उफ्रिन्छन्। संसदमा नपुर्‍याउने बाहिर बुरुक्क बुरुक्क उफ्रिने ? ’

‘अन्तर्राष्ट्रिय सम्बन्धको कुरा गर्दा ५ वर्ष अघि यिनीहरू(गठबन्धन)ले एमसीसी सम्झौता गरे। एमसीसीमा ५ वर्ष अगाडि अहिले सरकारमा जो छ उनीहरूले नै सम्झौता गरे। एमसीसीलाई ठगी खाने भाँडो बनाउँदै छन्। चुनावपछि एमालेको सरकार बन्यो। एमसीसी पास गर्नुहुँदैन एमालेलाई सरकारबाट हटाएपछि पास गर्छौ भनेर पर सार्दै, सार्दै सार्दै लगे,’ ओलीले भने, ‘अब अहिले अन्तर्राष्ट्रिय सम्बन्ध, नेपालको विदेश सम्बन्धलाई तहसनहस पारेका छन्।’